युनियन लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको आज (१० बजे) देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला हुने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्री खुला गरेको हो ।

 

निष्काशित कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता नै कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा साउन ७ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी (आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

 

हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ५८ लाख ५ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ५ लाख ८० हजार ५०० जनालाई मात्र सेयर दिन पुग्छ ।

 

यसअघि खुलेका आइपीओमा करिब २१ लाखले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै काट्न सकिने Read Previous

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै काट्न सकिने

६४.५ करोडको आइपीओ ल्याएको युनियनमा गोल्छासहित १३ व्यापारीको लगानी, कसको हिस्सा कति ? Read Next

६४.५ करोडको आइपीओ ल्याएको युनियनमा गोल्छासहित १३ व्यापारीको लगानी, कसको हिस्सा कति ?