काठमाडौं । असार मसान्त नजिकिएसँगै सरकारले धमाधम खर्च गर्न थालेपछि बैंकहरुमा पैसा थुप्रिन थालेको छ ।
यसअघि खर्च हुन नसके पनि आर्थिक वर्षको अन्त्यमा धमाधम विकास आयोजनाको रकम खर्च गर्न थालेपछि बैंकमा ठूलो मात्रमा रकम जम्मा हुन थालेको हो ।
वाणिज्य बैंकहरुले असार तेस्रो सातामा मात्रै ४७ अर्ब निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार असारको पहिलो दुई सातामा जम्मा ८ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले तेस्रो सातामा मात्रै ४७ अर्ब निक्षेप संकलन गरेका छन् ।

निक्षेप संकलनमा आक्रमक भएका बैंकहरुको कर्जा लगानी भने सुस्त देखिएको छ । असार तेस्रो सातामा ४७ अर्ब निक्षेप संकलन गर्दा जम्मा १४ अर्ब मात्र कर्जा लगानी गरेका छन् ।
यस्तै, असारको तीन सातामा मात्रै ५५ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले सा अवधिमा जम्मा २१ अर्ब मात्र कर्जा लगानी गरेका छन् ।
असार तेस्रो सातासम्म बैंकहरुले कुल ४० खर्ब ४६ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ६८ अर्ब कर्जा लगानी गरेका छन् ।