काठमाडौं । श्री एयरलायन्सको नयाँ जहाज क्यू ४०० काठमाडौं आइपूगेको छ । बम्बाडियरको जेट इन्जिनयूक्त सीआरजे २०० र ७०० सिरीजको ४ वटा जहाज सञ्चालन गरिहेको श्रीएयरलायन्सको पाँचाै जहाज हो ।
क्यू ४०० मोडलको यो जहाज टर्बोप्रप्स इन्जिनयूक्त जहाज हो । जहाजको क्षमता ८० सिट रहेको कम्पनीले जनाएको छ । आवश्यक प्रकृया पूरा गरेपछि कम्पनीले यो जहाजलाई सुरुमा जनकपूर, पोखरा र सीमरामा उडान गर्ने जनाएको छ ।
यो जहाजको आगमनसँगै नेपाली आकासमा लामो दूरीका उडानमा फ्रान्सेसी कम्पनी एटिआरका विमानहरुको एकछत्र राज समाप्त भएको छ । हाल बुद्ध एयर र यती एयरलायन्सले एटिआरका विमानहरु सञ्चालन गरिरहेका छन् ।
सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ विराटनगर, चन्द्रगढी, नेपालगञ्ज र राजविराज लगायतका गन्तब्यमा उडान भर्दै आएको छ ।हालै मात्र कम्पनीले अन्तराष्टि्य उडानकाे समेत अनुमती पाएकाे छ ।
दुई दशकदेखि हेलिकप्टर सेवा दिइरहेको श्री एयरलाइन्ससले यसअघि हेलिकप्टरको अन्तरराष्ट्रिय उडानका लागि लाइसेन्स पाएको थियो । सोही लाइसेन्सकै आधारमा फिक्स्ड विङको लाइसेन्स पनि माग गर्दै उक्त कम्पनीले पर्यटन मन्त्रालयमा आवेदन दिएको थियो ।
मन्त्रालयले छ महीनाअघि चार्टर्ड उडानको मात्र लाइसेन्स दिएपछि यही २७ गते उक्त एयरलाइन्सले भारतको वनारसमा परीक्षण उडान गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले अन्तरराष्ट्रिय गन्तब्यमा उडान विस्तार गरेको एयरलाइन्सले जनाएकाे छ ।
श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । कम्पनीका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट भारत र बङ्गलादेशमा नियमीत उडान भरिने जनाएकाे छ ।