नारायणगढ-मुग्लिन सडकमा पहिरै पहिरो, एउटा पन्छाइ नसक्दै अर्कोले बाटो बन्द

फाइल तस्वीर

चितवन। वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ ।पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो ।

 

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ ।

 

आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहेका उनले भने, “लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ ।”

 

पछिल्ला वर्षहरूमा पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटरमाथि बारी छ । त्यहाँ छ मिटर जति माटो मात्रै रहेको उनले जानकारी दिए । त्यस ठाउँमा खेती गरिँदै आएको छ ।

 

सोही ठाउँबाट पहिरो तल खसेको छ । भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उनको भनाइ छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा सडक खुलाउन मुस्किल भएको बताउँछन् । एक सातायता सो सडकले दुःख दिइरहेको छ । “अब सडक खुल्यो भन्ने बेलामा सेतीदोभानमा पहिरो खस्न शुरु गरेको हो,” उनले भने ।

 

“असार १८ गते साँझदेखि खसेको पहिराले निरन्तर दुःख दिइरहेको छ । कतिबेला के हुने हो ? निकै जोखिम बढेको छ,” उनले भने, “सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्नुहोस् ।”

 

जाममा परेकाहरू बिरामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उनले पूर्वबाट आउने सवारीलाई बर्दिबास र हेटौँडाबाट राजधानी छिर्न सुझाव दिएका छन् । सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको सङ्ख्या ३ हजारभन्दा बढी पुगिसकेको भन्दै उनले विगत तीन दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिए।

 

भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ । नारायणगढ–मुग्लिन सडकका फराकिला सडक र खुला ठाउँमा पनि सवारी रोकिराखिएको उनले जानकारी दिए ।

 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो सडकमा पहिरो झरेलगत्तैदेखि निरन्तररूपमा सफा गर्ने उपकरण र जनशक्ति परिचालन गरिएको बताए । उनका अनुसार निरन्तररूपमा पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो । काम गर्न सकेसम्म रोकिएको छैन ।

 

डिभिजन सडक कार्यालय भरतपुर र सुरक्षा निकायले सडक खुलाउनका लागि दिनरात काम गरिरहेका छन् । केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो ।

 

तीन वर्षअघि काम सम्पन्न भएयता अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन । यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरोले दुःख दिन थालेको हो । यस सडकमा सामान्य अवस्थामा दैनिक १० हजार हाराहारी सवारी साधन आवतजावत गर्ने तथ्याङ्क छ ।

आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन शुरु, काठमाडौंका यी ३२ स्थानमा लगाइन्छ खोप Read Previous

आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन शुरु, काठमाडौंका यी ३२ स्थानमा लगाइन्छ खोप

ठेक्का हात पारेर काम नगर्ने शैलुङ इन्टरप्राइजेज सहित १५ कम्पनी कालोसूचीमा (नामसहित) Read Next

ठेक्का हात पारेर काम नगर्ने शैलुङ इन्टरप्राइजेज सहित १५ कम्पनी कालोसूचीमा (नामसहित)