काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटलका अनुसार आइतबार ६ बजेसम्म लघुवित्तको आइपीओमा १७ लाख ६३ हजार ७९४ जनाले २ करोड ३२ लाख ७ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६३.८४ गुणा बढी हो ।
लघुवित्तले बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।
निष्काशन हुने कुल सेयरमध्ये ६ हजार ५८ लघुवित्तका कर्मचारी, १९ हजार ४५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा आज (असार २१ गते) सम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।
हाल ८ करोड २२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।
कति कित्ता भर्नु उपयुक्त ?
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई ३ लाख ६३ हजार ४९२ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा जम्मा ३६ हजार ३४९ जनालाई मात्र सेयर दिन पुग्छ ।
आवेदन दिने समय अझै १ दिन बाँकी रहँदासम्म साढे १७ लाख बढीले भरिसकेका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।