माथिल्लो तामाकोशीको उद्घाटन आज, पहिलो चरणमा ७६ मेगावाट बिजुली उत्पादन हुने

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आजदेखि  बिजुली उत्पादन शुरु गरिने भएको छ ।

 

आज (सोमबार) अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट राष्ट्रिय गौरवको आयोजना  तामाकोशी आयोजना उद्घाटन गर्ने भएका हुन् ।

 

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको हो ।

 

आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेेका  छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

 

‘६ वटा युनिटमध्ये आजदेखि पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन शुरु हुँदैछ,’ न्यौपानेले भने, ‘अब क्रमशः अन्य युनिटबाट पनि उत्पादन गर्दै लगिने छ । असार मसान्तभित्रै दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी छ ।’आगामी भदौ/असोजसम्ममा सबै युनिटबाट बिजुली उत्पादन गरिसक्ने आयोजनाको लक्ष्य रहेको उनको भनाइ छ ।

 

तामाकोशीको बिजुली तामाकोशी करिडोर हुँदै खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । खिम्ती सबस्टेशनमार्फत् नै उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ।

 

आयोजनाले आइतबार मात्रै गोंगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो भने शनिबार ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

 

आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेेका  छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना २०७२ सालमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । भूकम्प, नाकाबन्दी, ठेकेदारको ढिलाई, कोरोना लगायत कारण आयोजनाको काममा ढिलाइ भएको हो ।

 

२०६८ सालमा निर्माण शुरू गर्दा यस आयोजनाको लागत कुल ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । २०७७ पुसमा निर्माण सम्पन्न हुने प्रक्षेपणसहित यसको लागत ८३ अर्ब ७६ करोड प्रक्षेपण गरिएको थियो । यसमध्ये ५३ अर्ब लागत खर्च रहेको छ भने ३० अर्ब रुपैयाँ ब्याज रहेको छ ।

 

आयोजना पूर्णरुपमा संचालनमा आएपछि वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले विद्युत् विक्रीबाट वार्षिक करिब ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ६४ गुणा बढी आवेदन, कति जनाले भरे ? Read Previous

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ६४ गुणा बढी आवेदन, कति जनाले भरे ?

गोल्छा ग्रुपले शिक्षण अस्पताललाई ३० वटा माइक्रोवेभ ओभन प्रदान Read Next

गोल्छा ग्रुपले शिक्षण अस्पताललाई ३० वटा माइक्रोवेभ ओभन प्रदान