बागलुङको वनमा पनि फलफूल खेती, मानव–वन्यजन्तु द्वन्द्व घटाउने विश्वास

काठमाडौं। मानव–वन्यजन्तु द्वन्द्व घटाउने र वनको बहुप्रयोग बढाउने उद्देश्यले बागलुङका दुई सामुदायिक वनमा फलफूल रोपण गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा गलकोट नगरपालिका–७ मल्मस्थित लाम्दारा र काठेखोला गाउँपालिका–७ रेशको साँघुखोला रातोपहरा सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको हो ।

 

फलफूल खेतीबाट वनको उत्पादकत्व र सौन्दर्य पनि बढ्ने विश्वास लिइएको छ । कार्यालयका वन अधिकृत प्रकाश थापाका अनुसार यो वर्ष जिल्लाका दुई स्थानमा मात्र वनजन्य फलफूल रोपणको नमूना कार्यक्रम सञ्चालन गरिएको हो ।

 

‘यो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नु हो’, उनले भने, ‘फलफूल लगाउँदा बाँदरलगायत शाकाहारी जन्तु, चराचुरुङ्गीले वनमै आहारा पाउँछन्, जसले गर्दा उनीहरु मानव बस्तीतिर आउनबाट रोकिन्छन् ।’

 

ग्रामीण भेगका बस्तीमा नजिकका वनबाट बाँदर छिरेर बर्सेनि खेतीबालीमा नोक्सान पु¥याउँदै आएका छन् । हैसियत बिग्रिएका वनको अवस्था सुधार्न पनि फलफूल खेतीले सघाउने अधिकृत थापाको भनाइ छ ।

 

फलफूल रोपणका लागि कार्यालयले दुवै सामुदायिक वनलाई पाँच लाख रुपैयाँका दरले बजेट दिएको थियो । जसमा सामुदायिक वनले थप सवा लाख रुपैयाँ बराबरको जनश्रमदान जुटाएका छन् । लाम्दारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम थापाले १२ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूल लगाइएको बताए ।

 

लप्सी, अमला, हर्रो, बर्रो, अम्बा, केरा, एभोकाडो, टिमुरलगायत गरी पाँच हजार फलफूलका बिरुवा रोपिएको उनको भनाइ छ । सबैभन्दा बढी लप्सीका एक हजार ४०० बिरुवा रोपिएको छ । समितिका सदस्य र उपभोक्ता मिलेर फलफूल रोपेका थिए ।

 

रेशको साँघुखोला रातोपहरा सामुदायिक वनको पनि झण्डै १२ हेक्टरमा फलफूल खेती गरिएको कार्यालयले जनाएको छ । उक्त वन क्षेत्रमा बढीजसो ओखराका बिरुवा लगाइएको छ । हावापानीका कारण लाम्दारा र रातोपहरा वनमा फरक–फरक प्रजातिका फलफूल रोपण गरिएको अधिकृत थापाले बताए ।

 

गलकोट–७ मा ‘फ्रुट फरेष्टी मोडल स्थापना’ र काठेखोला–७ मा ‘हैसियत बिग्रेको वनमा फलफूल रोपण’ शीर्षकमा बजेट/कार्यक्रम आएको हो । दुवैको मुख्य उद्देश्य भने मानव–वन्यजन्तु द्वन्द्व कम गर्नु नै रहेको जनाइएको छ ।

 

सामुदायिक वनमा गरिएको फलफूल खेतीले उपभोक्तालाई आयआर्जनमा पनि जोड्ने सामुदायिक वन उपभोक्ता महासङ्घ, बागलुङका अध्यक्ष राज थापाले बताए । ‘यसले पर्यावरण प्रवद्र्धनमा पनि टेवा पुग्छ, वनमा आधारित आयमूलक गतिविधिलाई पनि अघि बढाउन सकिन्छ,’ उनले भने ।

 

कार्यालयले वनको बहुउपयोग बढाउन सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर विभिन्न खाले प्रवद्र्धनात्मक काम गर्दै आएको छ । यही वर्ष बागलुङ नगरपालिका–११ रायडाँडा र निसीखोला गाउँपालिकामा गरी आठ हेक्टर क्षेत्रफलमा टिमुरखेती गरिएको छ । जसका लागि डिभिजन वन कार्यालयले रु १०/१० लाख बजेट उपलब्ध गराएको थियो । कार्यालयको सहयोगमा काठेखोलाको बिहुँमा जडीबुटी प्रशोधन केन्द्रसमेत यही वर्षदेखि सञ्चालनमा ल्याइएको छ ।

वाग्मती‘ब्यूटिफिकेशन’को काम अन्योलमा, पुरानै ठेकेदारलाई काम दिने तयारी Read Previous

वाग्मती‘ब्यूटिफिकेशन’को काम अन्योलमा, पुरानै ठेकेदारलाई काम दिने तयारी

यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो नेपालकै सर्वोत्कृष्ट ग्रेडको गुणस्तर प्रमाण पत्र Read Next

यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो नेपालकै सर्वोत्कृष्ट ग्रेडको गुणस्तर प्रमाण पत्र