चामल आयात ६० प्रतिशतले वृद्धि, ११ महिनामै ४८ अर्बको भित्रियो

काठमाडौं । नेपाल कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भरता झनै बढ्दै गएको छ । समृद्ध नेपालको नारा घन्काउने सरकारले आधुनिक र वैज्ञानिक कृषि प्रणाली अपनाइ कृषि उत्पादकत्व बढाउन नसक्दा वर्षेनी परनिर्भरता बढ्दै गएको हो ।

 

मुख्य खाद्यान्नको रुपमा रहेको धान चामल आयात उल्लेख्य रुपमा वृद्धि भएको छ । चालू आर्थिक वर्षमा धान चामल आयात गत वर्षको तुलनामा ६० प्रतिशतले वृद्धि भएको छ ।

 

भन्सार विभागको तथ्यांक अनुसार चालू आवको ११ महिना (साउन-जेठसम्म) कुल ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको छ । सो मूल्यमा १ अर्ब २६ करोड ६४ लाख केजी धान चामल आयात भएको भएको छ ।

 

चालू आवमा गत वर्षकोभन्दा १८ अर्ब बढीको धान चाम आयात भएको हो । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ३० अर्बको धान चामल आयात भएको थियो ।

 

चालू आवको जेठसम्म २८ अर्ब ६० करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । जबकी गत वर्षको सोही अवधिमा २१ अर्ब २० करोडको चामला आयत भएको थियो ।

 

गत वर्षको ११ महिनामा ३ लाख ९७ हजार मेट्रिक टन चामल आयात भएकोमा यो वर्ष सोही अवधिमा ६ लाख टन नाघेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यस्तै, चालू आवमा १९ अर्ब ५२ करोड रुपैयाँ बराबरको धान आयात भएको छ ।

 

धानचामल आयातमा उच्च वृद्धि भएसँगै धरै आयात हुने वस्तुको शीर्ष १० वस्तु भित्र परेको छ । चालू आर्थिक वर्षको ११ महिनामा चामल, मकै, दाल, गेडागुडी, तरकारी, फलफूल, लगायत खाद्यवस्तु आयातमा सवा २ खर्ब बढी बाहिरसकेको विभागको तथ्यांक छ ।

 

बढेन धान उत्पादन

 

माग बढे पनि उत्पादन भने खासै वृद्धि हुन सकेको छैन । चालू आथिर्क वर्षमा ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा ३.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । धान उत्पादन प्रतिहेक्टर ३.१ मेट्रिक टनबाट वृद्धि गरी ४ मेट्रिक टन पुर्याउने लक्ष्य सरकारको छ । त्यो लक्ष्य पूरा गर्न नसके पनि विगतभन्दा उत्पादन वृद्धि भएका कारण मन्त्रालयले यसलाई सकारात्मक रूपमा लिएको छ । ६० लाख मेट्रिक टन धान उत्पादन भयो भने देश धानमा आत्मनिर्भर हुने मन्त्रालयको दाबी छ ।

 

यो आवमा १४ हजार ५५९ हेक्टर क्षेत्रफल वृद्धि भई कुल १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको जनाइएको छ ।

 

देशभरको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको सरकारी आँकडा छ । आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा हुन नसक्ने किसानहरु बताउँछन् ।

 

नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले १५ जिल्लामा धान उत्पादन बृृहत् कार्यक्रम सञ्चालन गर्दै आएको छ भने झापा जिल्लालाई धानको ‘सुपर जोन’ घोषणा गरेको छ ।

जीवन विकास लघुवित्तको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, १९ लाखले सेयर नपाउने Read Previous

जीवन विकास लघुवित्तको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, १९ लाखले सेयर नपाउने

सगरमाथा इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

सगरमाथा इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन