काठमाडौं । आन्तरिक हवाई उडान असार १७ गतेदेखि खुल्ने भएको छ । गतसात संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान पुनः शुरु गर्ने निर्णय गरेको थियो । सोसँगै आन्तरिक उडान खुलाउने तयारी तीव्र पारिएको हो ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी हाल कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने छ । विमानस्थल टर्मिनलको क्षमता अनुसार भीडभाड नहुने गरी १० मिनेटको अन्तरमा एउटा उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार हाललाई बुद्ध एयरलाई दैनिक सबैभन्दा धेरै ३१ उडान गर्न दिइने भएको छ । यस्तै, यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटीओएलतर्फ उडान गर्नेलाई ३/३ उडान स्वीकृति दिइएको छ।