काठमाडौं । निषेधाज्ञाका बीच चिया निर्यात ३४ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको ११ महिना (असार–जेठ) मा कुल ३ अर्ब ५३ करोड ७२ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । यो गव वर्षको सोही अवधिको तुलनामा ३४.६४ प्रतिशतले बढी हो ।
चालू आवको ११ महिनामा १ करोड १० लाख केजी चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको हो । गत आर्थिक वर्षको ११ महिनामा २ अर्ब ६ करोड १६ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । सो मूल्यमा ८३ लाख २५ हजार केनी चिया निर्यात गरिएको थियो ।
गत आर्थिक वर्षमा कुल २ अर्ब ७८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । सो मूल्यमा १ करोड ११ लाख केजी चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ करोड ४१ लाख रुपैयाँ बराबरको चिया आयात भएको छ । सो मूल्यमा ३ लाख ९ हजार केजी चिया आयात भएको हो ।
गत आर्थिक वर्ष सोही अवसधमा ७ करोड ४५ लाख रुपैयाँ बराबरको चिया आयात भएको थियो । सो मूल्यमा २ लाख १६ हजार केजी चिया आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत वर्ष कुल महिनामा ७ करोड ४५ लाख रुपैयाँ बराबरको चिया आयात भएको थियो । सो मूल्यमा २ लाख १६ हजार केजी चिया आयात भएको थियो ।
चिया तथा कफी विकास विकास बोर्डका प्रवक्ता लिपक खनालले कोभिड १९ को दोस्रो लहरले केही प्रभावित पारे पनि निर्यातमा ठूलो असर नपरेको बताए । उनले विगतमा पनि कोभिड असर भोगेकाले यो पटक निषेधाज्ञमा तत्काल सुरक्षा अपनाएर काम गर्न थालिएकाले धेरै असर पर्न नगएको बताए ।
‘यो पटक खासै धेरै असर परेको छैन, उद्योगहरुसम्म सामान पुर्याउन सजिलो भएको छ,’ खनालले भने ‘गएको कोरोनाका कारण यो पटक कामै रोक्नु पर्ने भएन, सबैले सुरक्षा अपनाएर काम गरेका छन् ।’
नेपाल व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ ले वार्षिक २ करोड २२ लाख ४० हजार किलो चिया उत्पादन भएको देखाएको हो । चिया खेती गर्ने कृषक/व्यवसायीमध्ये ८२.३ प्रतिशतले १ हेक्टर भन्दा कममा चिया खेती गरेकोसर्वेक्षणले देखाएको छ ।
एक हेक्टरभन्दा कम हेक्टरका खेती गर्ने साना किसान र एक हेक्टरभन्दा बढी हेक्टरमा खेती गर्नेलाई व्यावसायिक कृषकको रुपमा परिभाषित छ । सर्वेक्षण अनुसार कृषक तथा व्यवासायीले १२ लाख ६६ हजार हेक्टरमा चिया खेती गरिएको पाइएको छ ।
मुलुकभरका ७७ जिल्लामध्ये १४ जिल्लामा चियाको व्यावसायिक खेती हुने गरेको छ । देशभर उत्पादन गरेको चियामध्ये सिटिसी चिया ५५ प्रतिशत निर्यात हुने गरको छ भने ९० प्रतिशत प्रांगारिक चिया बाहिरै जान्छन् ।
७ करोडको कफी निर्यात
चालू आर्थिक वर्षको ११ महिनामा कफी ७ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । सो मूल्यमा ५९ हजार ५ सय केजी कफी निर्यात भएको हो । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ५ करोड १६ लाख रुपैयाँ बराबरको कफी निर्यात भएको थियो ।
सो मूल्यमा ४२ हजार केजी कफी निर्यात भएको हो । गत आर्थिक वर्षमा कुल ७ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात भएको थियो । सो मूल्यमा ४६ हजार केजी कफी निर्यात भएको हो ।
चालू आवको ११ महिनामा अवधिमा १० करोड २५ लाख रुपैयाँको कफी आयात भएको छ । सो मूल्यमा १ लाख ८८ हजार केजी कफी आयात भएको छ ।
गत वर्ष सोही अवधिमा ११ करोड ६७ लाख रुपैयाँ बराबरको कफी आयात भएको थियो । सो मूल्यमा २ लाख ६३ केजी कफी आयात भएको हो । गत आर्थिक वर्षमा कुल १० करोड ५६ लाख रुपैयाँ बराबरको कफी आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । सो मूल्यमा २ लाख ४३ हजार केनी कफी आयात भएको थियो ।