बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्लो दुई सातामा करिब २०० अंकले घटेको बजार आज २७ अंकले बढेको हो ।

 

सूचकमा सुधार आए पनि कारोबार रकम भने घट्दो क्रममा रहेको छ । गतसाता औसतमा दैनिक १० अर्ब कारोबार हुँदै आएकोमा आज घटेर ७ अर्बमा सीमित भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से २७.१७ अंकले बढेर नेप्से २८७०.१८ विन्दुमा पुगेको छ । आज २२७ कम्पनीको ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.७६ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज कारोबारमा आएका २२७ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा सेञ्चुरी कमर्शियल बैंकको ३७ करोड र नेपाल पुनर्बीमा कम्पनीको ३४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेञ्चुरी कमर्शियल बैंक र माथिल्लो तामाकोशीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

यस्तै, आज युनाइटेड इदी मार्दी हाइड्रोपावर ७.२५ प्रतिशत, रिडी हाइड्रोपावर ६.२५, सिभिल बैंक ६.०९, नेशनल हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ ।

 

बढ्दो बजारमा आज गोर्खा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.३७ प्रतिशत गुमाएका छन् ।

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न Read Previous

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

निषेधाज्ञाका बीच चिया निर्यात ३४ प्रतिशतले वृद्धि, १ करोड १० लाख केजी बाहिरियो Read Next

निषेधाज्ञाका बीच चिया निर्यात ३४ प्रतिशतले वृद्धि, १ करोड १० लाख केजी बाहिरियो