थामिएन सेयर बजारको पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । हिजो एकैदिन ५४ अंकले घटेको बजार आज पनि दोहोरो अंकले ओरालो लागेको हो ।

 

गत मंगलबार धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनि गरेपछि त्यसयता निरन्तर ओरालो लागेको बजार मंगलबार ७९ अंकले बढे पनि त्यो एक दिन टिक्न सकेन । समग्रमा यस साता बजार ११० अंकले घटेको छ भने बोर्डको विज्ञप्तिपछि करिब २०० अंकले घटेको छ ।

 

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । यससाता दैनिक औसतमा ११ अर्बको कारोबार हुँदै आएकोमा आज घटेर ७ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १६.९६ अंकले घटेर २८४३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र होटल बाहेक बाँकी ११ समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ५५.७६ अंकले घटेको छ भने निर्जीवन बीमा समूह १७७.२४ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये जम्मा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३८ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स ३५ करोड र अपर तामाकोशी करिब २९ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा ङादी ग्रुप र नेपाल इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

यस्तै, वरुण हाइड्रोपावर ४.६९, एनआरएन इन्फ्रास्टक्चर ४.४४, कर्णाली डेभलपमेन्ट बैंक ३.९३, एभरेष्ट बैंकको प्रिफरेन्स सेयरधनीले ३.७५, सीईडीबी हाइड्रोपावर, मल्टी प्रपोज फाइनान्स, घलेम्दी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट कम्पनीका सेयरधनीले ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

 

घट्दो बजारमा पनि आज अपर तामाकोशीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

काठमाडौं महानगरपालिकाले ल्यायो १८ अर्ब ९५ करोडको बजेट Read Previous

काठमाडौं महानगरपालिकाले ल्यायो १८ अर्ब ९५ करोडको बजेट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पर धकेलियो, काम पूरा गर्न अझै ४ महिना लाग्ने Read Next

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पर धकेलियो, काम पूरा गर्न अझै ४ महिना लाग्ने