पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पर धकेलियो, काम पूरा गर्न अझै ४ महिना लाग्ने

काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अझै कम्तीमा ४ महिना लाग्ने भएको छ । यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो ।

 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले पोखरा विमानस्थल पूर्ण रुपमा सम्पन्न हुन अझै ३/४ महिना लाग्ने बताए । उनले कोभिडका कारण अन्तिम चरणका कामहरु गति लिन नसकेको बताए ।

 

मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना रहेकोमा कोभिड दोस्रो लहरका कारण रोकिएको हो । अब विदेशी जनशक्तिहरु जुलाई/अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको उनले बताए ।

 

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला, ह्याङगर निर्माण लगायतका पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

 

विमानस्थल निर्माण २०२१ डिसेम्बर भित्र सक्ने योजना रहेकोमा निर्माण अन्तर्गत फिनिसिङको काम सकिन ३/४ महिना लाग्ने उनको भनाइ छ । निषेधाज्ञ खुकुलो भएसँगै कर्मचारीहरु आउन थालेकाले अब कामले गति लिने उनले बताए ।

 

‘काम गर्ने मजदुरहरु कोरोनाका कारण घर फर्केकाले काम भने जस्तो हुन सकेको थिएन, अब निषेधाज्ञ खुकुलो भएसँगै मजदुर आउँदै छन्, अब कामले विस्तारै गति लिन्छ,’ प्रवक्ता क्षेत्रीले चाणक्य पोष्टसँग भने ।

 

आयोजना प्रमुख विनेश मुनकर्मीले कोभिडको निषेधाज्ञमा पनि निरन्तर काम भइरहेको बताए । उनले थोरै जनशक्तिमा भए पनि काम भइरहेको बताए । निषेधाज्ञका कारण धेरै कर्मचारीहरु घर फर्केका थिए । ५०० जनशक्तिको ठाउँमा कोभिड निषेधाज्ञा २०० हाराहारीमा जनशक्तिले काम गरिरहेको उनको भनाइ छ ।

 

यस्तै चिनियाँ जनशक्तिमा समेत कमी आएको छ । हाल चिनियाँ जनशक्ति १६६ जना मात्र निर्माणमा आवद्ध रहेका छन् । चिनियाँ जनशक्ति ३ सयका हाराहारीमा आवश्यक रहेको छ ।

 

‘कामको स्पिड घटेको छ, धेरै जनशक्तिहरु घर फर्केका छन् समयमा सकिन गाह्रो छ, उडान बन्द भएकाले चिनियाँ जनशक्ति ल्याउन सकिएको थिएन,’ आयोजना प्रमुख मुनकर्मीले चाणक्य पोष्टसँग भने ‘निषेधाज्ञ खुकुला भएसँगै कर्मचारी आउन थालेका छन् ।

 

फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका कामहरु भइरहेको छ । निषेधाज्ञका कारण निर्माणको १ महिनाको प्रगतिमा कमी आउने उनले बताए । हालसम्म निर्माणको ७७ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीयतर्फ ५७ प्रतिशत प्रगति भएको उनले जानकारी दिए ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञ हुँदा कामले गति लिन सकेको छैन ।

 

कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । यस अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

 

हाल विमानस्थल निर्माणले अपेक्षित सकेको गति लिन सकेको छैन । निर्माण सम्पन्न मिति समेत २०२१ डिसेम्बरका लागि सारिएको आयोजना प्रमुख मुनकर्मीले बताए । विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि शुरु भएको हो ।

 

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागी र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिँदै छ ।

 

पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् । २५०० मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १९२ हाराहारीमा रहने छ ।

 

थामिएन सेयर बजारको पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी Read Previous

थामिएन सेयर बजारको पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी

जीवन विकास लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Next

जीवन विकास लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?