फाष्ट ट्रयाकको सुरुङ डिजाइन गर्न चिनियाँ टोली आइपुग्यो, ६ महिना भित्र काम सक्ने

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली आज काठमाडौँ आएको छ ।

 

कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली काठमाडौँ आएको हो ।

 

सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनीयरसहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

 

राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग २८ अर्ब ५३ करोड रुपैयाँ लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो ।

 

टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ । कम्पनीको नेपालमा रहेको समूहले स्थानविशेषमा गई यसअघि नै सर्भेको काम शुरु गरिसकेको छ ।

निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडामा सुरुङको डिजाइन गर्न बुधबार काठमाडौँ त्रिभुवन विमानस्थलमा उत्रिएको चिनियाँ ठेकेदार पोली च्याङदा इञ्जिनियरिङ कम्पनीका परियोजना प्रबन्धकसहितको टोली ।

 

सम्झौता भएको ६ महिनाभित्र डिजाइनको काम पूरा गर्ने अठोट र तदारुकता देखाएर पोली च्याङ्दाको टोली काठमाडौँ आएको हो । डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

 

सेनाले द्रुतमार्गको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनीयरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो ।

 

पहिलो प्याकेज करीब २१ अर्ब ३ करोडमा निर्माण गर्ने सम्झौता भएको छ । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटाछोटा दुई सुरुङ छन् ।

 

सम्झौतापत्रमा द्रुतमार्गका तर्फबाट प्रमुख सहायकरथी विकास पोखरेल र निर्माण कम्पनीका तर्फबाट प्याकेज नं १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज नं २ का परियोजना प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरेका छन् । सम्झौताबमोजिम निर्माण कम्पनीलाई ६ महिना डिजाइन अवधि र ३ वर्ष निर्माण समय प्रदान गरिएको छ ।

 

आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी नौ क्लष्टरका ठेक्का अघि बढ्ने क्रममा छ । त्यसपछि समानान्तररुपमा सबै कामले एकै चोटि गति लिने प्रवक्ता पौडेलले जानकारी दिए ।

 

एशियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्यरुपमा घट्ने छ ।

 

ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने द्रुतराजमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा कायपलट ल्याउने अपेक्षा गरिएको छ ।

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Previous

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

‘एनआइसी एशिया सेलेक्ट ३०’ म्युचुअल फण्डको विक्री खुला, १ करोड इकाईसम्म भर्न सकिने Read Next

‘एनआइसी एशिया सेलेक्ट ३०’ म्युचुअल फण्डको विक्री खुला, १ करोड इकाईसम्म भर्न सकिने