बीबीसी । चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई थप प्रभावकारी बनाउन बैंक र भुक्तानी सेवाहरूलाई यसको कारोबार रोक्न निर्देशन दिएको छ।
गत शुक्रबार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिएको हो।सोमबार बिटकोइनको मूल्य १० प्रतिशतले कम भएको थियो तर मङ्गलबार भने स्थिर भयो।
एप्रिलमा प्रतिबिटकोइन ६३ हजार अमेरिकी डलर पुगेको मूल्य अहिले त्यसको झन्डै आधा छ।सोमबार केन्द्रीय पिपुल्स बैंक अफ चाइनाले हालै मुख्य बैंक र भुक्तानी सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको बताएको हो।
एग्रिकल्चरल बैंक अफ चाइनाले केन्द्रीय बैंकको निर्देशन पालना गर्दै क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गैरकानुनी गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गर्ने बताएको छ।पोस्टल सेभिङ बैंकले पनि किप्टोकरेन्सी कारोबार नगर्ने बताएको छ।
मोबाइल र अनलाइन भुक्तानी सेवा अलिपेले गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार रोक्न निरीक्षण प्रणाली विकास गर्ने बताएको छ। गत वर्ष विश्वभरि उत्पादन भएको ६५ प्रतिशत बिटकोइन चीनमा माइनिङ गरिएको थियो।
केम्ब्रिज विश्वविद्यालयको अध्ययनले सिचुवान प्रान्त दोस्रो सबैभन्दा बढी बिटकोइन माइनिङ हुने स्थान भएको देखाएको थियो।बिटकोइन माइनिङमा कम्प्युटरको धेरै प्रशोधन शक्ति र ऊर्जा आवश्यक पर्छ।
गत महिना चीनको मन्त्रिपरिषद् स्टेट काउन्सिलले वित्तीय जोखिम नियन्त्रण गर्ने अभियान अन्तर्गत क्रिप्टोकरेन्सी कारोबार रोक्ने बताएको थियो।