काठमाडौं । झण्डै २ महिनादेखि बन्द अवस्थामा रहेको हवार्ई उडान संचालन अझै अन्योलमा रहेको छ । क्रमशः निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि हवार्ई उडान खुला गर्ने विषय अन्योलमै रहेको हो ।
यसअघि असार दोस्रो सातादेखि उडान संचालन गर्ने बताइए पनि अझै टुंगो लाग्न सकेको छैन् । निषेधाज्ञा असार १४ गतेसम्म लम्ब्याइएपछि हवाई उडान खुल्ला गर्ने विषय झनै अन्योलमा परेको हो । नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उडान सुचारु गर्ने विषयमा अझै टुंगो लाग्न नसकेको बताए । उनले यस विषयमा एयरलाइनस व्यवसायीहरुसँग छलफल भइरहे पनि ठोस निर्णनमा पुग्न नसकेको बताए ।
‘एयरलाइन्सहरुले १६ गतेबाट उडान शुरु गरौँ भनिरहेका छन्, तर केही ठोस निर्णय भएको छैन,’ क्षेत्रीले चाणक्य पोष्टसँग भने । उनले कोभिड संक्रमणबाट सुरक्षित रहने गरी मापदण्ड पालना गर्दै आन्तरिक उडान सुचारु गर्ने विषयमा पहल भइरहेको बताए ।
एयरलाइन्स व्यवसायीहरु १६ गतेबाट आन्तरिक उडान सञ्चालन गर्न लबिङ गरिरहेका छन् । यस अघि असार १ गतेबाट हवाई उडान खुल्ला गर्न व्यवसायीले माग गरे पनि सम्बोधन हुन सकेको छैन् ।
नेपालमा दैनिक १४/१५ हजार यात्रुले जहाजमार्फत यात्रा गर्ने गरेको तथ्याङ्क छ । तर, सरकारले कोरोना भाइरसको महामारी बढेसँगै उडान रोक्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रियतर्फ समेत खासगरी खाडी मुलुकमा नियमित उडान खोल्नुपर्ने माग उच्च रहेको छ ।
आन्तरिक उडान शुरु भएको सन्दर्भमा मानिसहरुको भीड नहुने गरी, एक दिनमा एक स्थानका लागि एउटा मात्र जहाज उडान भरिने छ । यसले विमानस्थलमा भिडभाड कम हुने अनुमान गरिएको छ । सुरक्षा पूर्वाधारहरु माक्स, सेनिटाइजर, फेस सिट लगायतका वस्तुहरुको अनिवार्य प्रयोग गरिनु पर्ने छ ।
नागरिक उड्डयन प्राधिकरणले नेपालमा कोभिड १९ को दोस्रो लहर संक्रमण बढेलतै वैशाख २३ गतेबाट ३१ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो । कोभिड १९ का कारण नेपालभर वैशाख १६ गतेबाट निषेधाज्ञ शुरु भएको थियो ।
हाल भारत, दोहा, स्तानबुल, चीन लगायतका देशका लागि दैनिक १/१ उडान भइरहेको छ । साउदी अरबको लागि समेत उडान खुल्ला गर्न गर्न सकिन्छ कि भन्ने छलफल भइरहेको छ ।
दुबईले भने नेपाललाई रेड जोनमा राखेको छ । दुबईले नेपाली उडानलाई रोक लगाएको छ । अन्य राष्ट्रका लागि उडान खुल्ला गर्ने विषयमा अझै छलफल हुन सकेको छैन । देशभर १३ एएयरलाइनस रहेका छन् ।