काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वार्थ समूहले चलखेल गरी मूल्य बढाइएका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ ।
पछिल्लो समय केही कम्पनीको सेयर मूल्य अस्वभाविक बढेपछि बोर्डले कमिटी नै बनाएर अध्ययन गरेको थियो । सोही अध्ययनका आधारमा बोर्डले चलखेल गरी मूल्य बढाइएका कम्पनीहरुको नामावली सार्वजनिक गरेको हो ।
स्वार्थ समूहले खासगरी नियमित वित्तीय विवरण सार्वजनिक नगरेका र कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको सेयर कर्नरिङ गरी अचाक्ली मूल्य बढाएको बोर्डको अध्ययन समितिको निष्कर्ष छ ।
१ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका, मूल्य आम्दानी (पीई रेसियो) १०० भन्दा बढी भएका र कम्पनीको हालको वित्तीय अवस्थाको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
वर्षौंदेखि बम्पर लाभांश दिँदै आएको नेपाल लाइफसहित बीमा क्षेत्रका ११ कम्पनीको सेयरमा लगानी गर्नु जोखिम रहेको बोर्डले जनाएको छ । बोर्डले ६ वटा लाइफ इन्स्योरेन्स, ४ वटा ननलाइफ इन्स्योरेन्स र एउटा पुनर्बीमा इन्स्योरेन्सको सेयरमा चलखेल गरी मूल्य बढाइएको जनाएको छ ।
बोर्डका अनुसार नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य अस्वभाविक बढाइएको पाइएको छ ।
यस्तै, निर्जीवन बीमातर्फ सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीसहित अजोड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सलाई निगरानीमा राखिएको छ ।
यस्तै, नेपाल पुनर्बीमा कम्पनी सम्पनीको सेयर मूल्यमा समेत चलखेल भएको भन्दै निगरानीमा राखिएको बोर्डले जनाएको छ ।
यी हुन् चलखेल गरी सेयर मूल्य बढाइएका ११ बीमा कम्पनी
