काठमाडौं । दुई बीमा कम्पनीसहित ३ कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति मागेका छन् ।
सानिमा लाइफ, युनियन लाइफ इन्सुरेन्स र अपर हेवाखोला हाइड्रोपावरले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । यी ३ कम्पनीले कुल १ करोड ४४ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति मागेका हुन् ।
कुन कम्पनीको कति कित्ता आइपीओ आउँदै ?
सानिमा लाइफ इन्स्योरेन्स : सानिमाले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।
सानिमाले आइपीओ निष्काशनका लागि रेटिङ समेत सम्पन्न गराइसकेको छ । सानीमाकोे आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम रहेको जनाउँदछ ।
हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
युनियन लाइफ इन्सुरेन्स : युनियनले साढे ६४ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ ला ५० हजार कित्ता आपीओ ल्याउन लागेको हो ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।
युनियनले आइपीओ जारी गर्न यसअघि नै प्रभु क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
अपर हेवाखोला हाइड्रोपावर : यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो ।