काठमाडौं । सुनको भाउ पछिल्लो समय बढेर प्र्रति तोला ७१ हजार रुपैंयाँ भन्दा माथि पुगिसकेको छ । नेपालमा मात्र नभएर पछिल्लो समय सुनको भाउ विश्वभरि नै तिब्र गतिमा बढिरहेको छ ।
भारतमा १० ग्राम सुनको (०.८५ तोला) करिब ३५ हजार भारु पुगिसकेको छ । अक्टोबरको कारोबारको लागि सम्झौताहरुमा थप १ प्रतिशत बढिसकेको छ । यो भनेको भारतमा पनि बिगत ६ बर्षकै सबैभन्दा उच्च मूल्य हो ।
भारतमा मात्र नभएर विश्वभरि नै सुनको मूल्य पछिल्लो ४ हप्तामा १० प्रतिशतले बढिसकेको छ । हाल सुनको मूल्य सन् २०१३ को प्रति आउन्स १४ सय डलर भन्दा बढि भइसकेको छ ।
विज्ञहरुका अनुसार मध्यपूर्वी क्षेत्रको तनाव (विशेषगरि अमेरिका र इरान) र विश्वका ठूला केन्द्रीय बैंकहरुले यस्ता तनावलाई लिएर गरेका टिप्पणीहरुले सुनमा गरिएको लगानीलाई अहिले सुरक्षीत बनाएको हो ।
पछिल्लो समय सुनको मूल्य ह्वात्तै बढ्नुमा निकट भविष्यमै आउन सक्ने आर्थिक जोखिम टार्नका लागि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउन सक्ने संकेत गर्नुलाई प्रमुख कारण मानिएको छ ।
त्यसैगरी युरोपियन केन्द्रीय बैंकले पनि मुद्रास्फितिले गति लिन नसके आफ्ना मौद्रिक नीतिलाई सहज बनाउने (बिस्तारकारी) संकेत गरेको छ । र, धिमा आर्थिक गतिविधिलाई केही गति दिन ब्याजदर कटौतीको समेत संकेत गरेको छ । कतिपय देशहरुमा त ऋणत्मक ब्याजदरमा घर कर्जा उपलब्ध गराउन थालिसहेका छन्, युरोपेली बैंकहरुले ।
यसरी ब्याजदर कम हुँदा बोण्डमा गरिने लगानीको ‘रिर्टन’को दर कम हुने हुँदा मानिसहरु सुन तर्फ आकर्षित भएका हुन् । यसैगरी अमेरिकी डलरको मूल्य घटिरहेको अहिलेको समयमा अमेरिकी डलरका आधारमा मुल्याङ्कन गरिएको सुनको मूल्य कम पर्न जाने हुनाले अन्य मुद्रा भएका खरिदकर्ताहरु पनि सुनतर्फ आकर्षित भएका छन् ।
विज्ञहरु सुनको मूल्य अझै बढ्ने अनुमान गरिरहेका छन् । अहिले पनि ठूला लगानीकर्ताहरुको लगानी पोर्टफोलियोमा सुनको हिस्सा निकै कम छ । यसरी मूल्य बढ्दै जाँदा सुन एउटा भरपर्दो ‘एसेट क्लास’को रुपमा विकसित हुने संभावना देखिन्छ ।
केन्द्रीय बैंकहरुले पनि आफ्नो जगेडा कोषमा विविधिकरण गर्नको लागि सुनको खरिदलाई तिब्र पार्न थालेका छन् । अहिले केन्द्रीय बैंकहरु विश्वको सबैभन्दा ठूला सुनमा लगानीकर्ता हुन् । उनीहरुसँग हाल ३० हजार टनभन्दा धेरै सुन रहेको अनुमान छ ।
समग्रमा भन्दा चीन, इरान लगायत देशहरुसँग अमेरिकी तनाव, विश्वब्यापी रुपमा सुस्ताउदैं गएको अर्थतन्त्र, कमजोर अर्थतन्त्रलाई ऋण दिन घट्दै जान थालेको ब्याजदर, कमजोर अमेरिकी डलर र यस्तो अस्थिर परिस्थितिमा सुरक्षीत लगानीको रुपमा देखापरेको भरपर्दो ‘एसेट क्लास’ भएका कारण सुनको मूल्य र हैसियत बढेको देखिन्छ ।