काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वार्थ समूहले चलखेल गरी मूल्य बढाइएका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ ।
पछिल्लो समय केही कम्पनीको सेयर मूल्य अस्वभाविक बढेपछि बोर्डले कमिटी नै बनाएर अध्ययन गरेको थियो । सोही अध्ययनका आधारमा बोर्डले चलखेल गरी मूल्य बढाइएका कम्पनीहरुको नामावली सार्वजनिक गरेको हो ।
स्वार्थ समूहले खासगरी नियमित वित्तीय विवरण सार्वजनिक नगरेका र कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको सेयर कर्नरिङ गरी अचाक्ली मूल्य बढाएको बोर्डको अध्ययन समितिको निष्कर्ष छ ।
१ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका, मूल्य आम्दानी (पीई रेसियो) १०० भन्दा बढी भएका र कम्पनीको हालको वित्तीय अवस्थाको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
समितिको अध्ययन अनुसार हाइड्रोपावर, विकास बैंक, फाइनान्स, जीवन तथा निर्जीवन बीमा कम्पनी लगायतको सेयर मूल्य अस्वभााविक बढाएको पाइएको छ ।
बोर्डका अनुसार नेपाल पुनर्बिमा कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल इन्फ्रास्ट्रचर बैंक, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष, शिवम सिमेन्ट, हिमालयन हिमालयन डिस्टिलरीको चलखेल गरी सेयर मूल्य बढाइएको पाइएको छ ।
यस्तै, चलखेल गरी मूल्य बढाइएका कम्पनीहरुमा चन्द्रागिरी हिल्स, अपर तामाकोशी, नारायणी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, गोर्खा फाइनान्स, नेपाल फाइनान्स, सोल्टी होटल, आँखुखोला हाइड्रोपावर, अरुण भ्याली, वरुण, दिव्यश्वरी, हिमालयन ऊर्जा, खानीखोला हाइड्रोपावर लगायत रहेका छन् ।
धितोपत्र बोर्डका अनुसार यी हुन चलखेल गरी सेयर मूल्य बढाइएका कम्पनी