गोदावरी सम्मेलन केन्द्र : निर्माण पूरा नहुँदै हतारमा उद्घाटन, १ महिनामै चुहिन थाल्यो पानी

काठमाडौँ । निर्माण सम्पन्न नहुँदै हतारमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले उद्घाटन गरेको ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पानी चुहिन थालेको छ ।

 

निर्माण पूरा नहुँदै उद्घाटन गर्ने प्रधानमन्त्रीको  हुटहुटी पूरा गर्न हतारहतार काम पूरा गरिएको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र १ महिनामै पानी चुहिन थालेको हो ।

 

अहिले सम्मेलन केन्द्रको मुख्य ढोकाबाट छिर्ने बित्तिकै माथिको छतबाट पानी चुहिन थालेको छ । केन्द्रको छानामा जस्तापाता छाइएको छ । छानाबाट निरन्तर पानी चुहिँदा फल्ससिलिङ भिजेर बिग्रिन थालेको छ ।

 

गोदावरी सम्मेलन केन्द्रका आयोजना म्यानेजर मचाकाजी महर्जनका अनुसार सम्मेलन केन्द्रको एक्सपान्सन जोइन्टबाट पानी चुहिएको हो । उनले छतमा धेरै पानी जमेकाले पानी जाने ठाउँ नभएपछि पानी भित्र पसेको बताए ।

 

सो स्थानमा हाल पाइप लगाएर तलसम्म पानी झार्ने काम भइरहेको छ । बर्खामा पानी पर्ने भएकाले त्यसको पहिलै केही व्यवस्था गर्नुपर्ने उनले बताए । ‘मनसुन नजिकिँदै छ, शुरुमै पानी हालेर परीक्षण भएन, अब आएका त्रृटीमा तत्काल मर्मत गरिँदै छ,’ महर्जनले चाणक्य पोष्टसँग भने ।

 

सो मर्मतको खर्च ठेकेदार आफैले बेहोर्ने छ । उनले सम्मेलन केन्द्र पूर्णरुपमा निर्माण भइ तयार भइसकेको दाबी गरे ।

 

प्रधानमन्त्री ओलीले गत वैशाख ३१ गते भर्चुअल माध्यमबाट उक्त सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए । उद्घाटन भएको एक महिनामै गोदावरी सम्मेलन केन्द्रमा पानी चुहिएको छ ।

 

सञ्चालन कार्यविधि बनेकै छैन

 

सम्मेलन केन्द्र निर्माण सम्पन्न भए पनि सञ्चालन विधि भने तयार भएको छैन । महर्जनले सञ्चालन कार्यविधि बन्ने क्रममा रहेको बताए । हालसम्म निर्माणपछि कसलाई हस्तान्क्रण गर्ने विषयमा समेत कुनै छलफल नभएको बताए । हस्तान्तरणको टुंगो लागेपछि सञ्चालन कार्यविधि तयार हुने छ ।

 

कस्तो छ ८१ करोडमा बनेको सम्मेलन केन्द्र  ?

 

२०७६ कात्तिक २० गते सम्झौता भई कात्तिक २१ गतेबाट सो भवन निर्माण शुरु गरिएको थियो । सम्झैता अनुसार २०७६ चैत २४ गते निर्माण सम्पन्न गर्नुपर्ने भए पनि रुख कटान, कामदार अभाव लगायत कारण ढिलाइ भएको थियो ।

 

समानान्तर जेभीले सरकारसँग ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिए पनि त्यसभित्र लिफ्ट हाल्नेलगायतका केही काम गर्ने सम्झौता छुटेकाले पछि पुनः करिब १६ करोड थप गरी कुल ८१ करोड रुपैयाँ पुगेको छ ।

 

आधुनिक र प्रविधियुक्त यो सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा, सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने गरी बनाइएको छ । यस सम्मेलन केन्द्र ४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भएको हो ।

 

११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहेको छ । सो केन्द्रमा ए, बी र सी गरी तीन ब्लक रहेका छन् । यसरी एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो भवन निर्माण भएको हो ।

 

सम्मेलन केन्द्रमा कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ब्लक ३ तलाको रहेको छ । जसमा आवश्यकता अनुसारको शौचालयको व्यवस्थासमेत गरिएको छ । मुख्य हलसँगै निर्माण हुने साना तथा अन्य कक्षको ब्लक समेटी एउटै हलको निर्माण भएको छ ।

सेयर बजारमा झिनो करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल Read Previous

सेयर बजारमा झिनो करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल

चलखेल गरी सेयर मूल्य बढाइएका ५१ कम्पनीको सूची सार्वजनिक (नामसहित) Read Next

चलखेल गरी सेयर मूल्य बढाइएका ५१ कम्पनीको सूची सार्वजनिक (नामसहित)