काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाता लगातार दैनिक नयाँ कीर्तिमानी बनाउँदै आएको बजारमा आज झिनो करेक्शन आएको हो ।
यससाताका दुई दिनमै नेप्से करिब ७५ अंकले बढेको नेप्से आज करिब ४ अंकले घटेको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २ अर्बले घटेर साढे १६ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३९ रुपैयाँ बराबरको ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । लगानी समूह सबैभन्दा धेरै २.०७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका २२६ कम्पनीमध्ये जम्मा ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ७६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ५२ करोड र हिमालयन डिस्ट्रीलरी ४२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
झिनो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । सीईडीबी, खानीखोला र युनियन हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यस्तै, ओरेन्टल होटल र एचआइडीसीएलका सेयरधनीले ५ प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज छ्याङ्दी हाइड्रोपावर र लिबर्टी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशत गुमाएका छन् ।