काठमाडौं । सेयर बजारले आफ्नो कीर्तिमानी यात्रा कायमै राखेको छ । बैंकिङ र होटल समूहमा चमक आउँदा नेप्सले फेरि ऐतिहासिक कीर्तिमानी बनाएको छ ।
आज नेप्सेले ३०२५ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३००० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले सर्वाधिक २९८३ विन्दु चुमेको थियो ।
सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । आज पौने १९ अर्ब बढीको कारोबार भएको छ । यो हालसम्मकै दोस्रो धेरै कारोबार हो ।
आज सेयर बजार मापक सूचक नेप्से ४२.७२ अंकले बढेर ३०२५.८३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ रुपैयाँ बराबरको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै ४.२५ प्रतिशत, इन्भेष्टमेन्ट समूह ३.३६ र बैंकिङ समूह २.७२ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २२१ कम्पनीमध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर ५४ करोड र हिमालयन डिस्ट्रीलरी ५० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
उच्च अंकले बढेको बजारमा आज १ दर्जन बढी कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स, खानीखोला, जोशी र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, ङादी ग्रुप, ओरेन्टल होटल, सीईडीबी हाइड्रोपावर, तारा गाउँ होटल, युनियन हाइड्रो, एचआइडीसीएल, सोल्टी होटल र हिमालयन डिस्ट्रीलरीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
दोहोरो अंकले बढेको बजारमा आज माउन्टेन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५.०१ प्रतिशतले गुमाएका छन् ।