काठमाडौं । सेयर बजार करेक्सन ‘मोड’मा जाने संकेत अझै देखिएको छैन । नेप्से परिसूचक करिब २७ सयबाट घट्न मानेको छैन । आज (सोमबार) नेप्से परिसूचक ३ हजार माथि नै बन्द भएको छ । दैनिक कारोबारमा पनि रेकर्ड बनिरहेको छ । दैनिक १८ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भइरहेको छ ।
सेयर बजारको आधारभूत विश्लेषण गर्ने हो भने यसरी दैनिक रुपमा उछाल आउनुपर्ने कारण भेटिँदैन । कोरोना महामारीको बीच सूचीकृत कम्पनीहरुको नाफा उल्लेख्य बढ्ने संभावना छैन । यसैगरी प्राविधक विश्लेषकहरु पनि अब ठूलो करेक्सन आउनुपर्ने र त्यसको भएको खण्डमा मात्र सेयर बजार दिगो रुपमा थप बढ्न सक्ने बताउँदै आएका छन् ।
तर, यी दुवैथरी विश्लेषकहरुलाई गलत ठहर्याउँदै नेप्से भने निरन्तर बढिरहेको छ । यो बढाइमा महत्वपूर्ण तथ्य के छ भने सेयर बजामा सूचीकृत सबै उप–सूचकहरु बढ्न सकेका छैनन् । बैंक, माइक्रोफाइनान्स र बीमा कम्पनीहरु बढ्न सकेका छैनन् । मुख्य रुपमा फाइनान्स, हाइड्रो र विकास बैंकमा उछाल आएको छ । सामान्यतः सस्ता र नराम्रा कम्पनीको सेयर मूल्य उच्च रुपमा बढेका छन् ।
अझ महत्वपूर्ण कुरा त के छ भने होटलका सेयरमा समेत केही दिनयता उछाल आएको छ । नेप्सेमा सूचिकृत ३ वटै होटल– सोल्टी, तारागाउँ र ओरियन्टल्सले आइतबार र सोमबार लगातार सकारात्मक सर्किट हानेका छन् ।
पर्यटन क्षेत्र कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावीत क्षेत्र हो । गत वर्षदेखि नै होटलहरु राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् । अझै १ २ वर्ष होटल पूर्णरुपमा र सहज रुपमा सञ्चालन हुन सक्ने अवस्था पनि छैन । यस्तो प्रतिकूल अवस्थामा समेत होटलका सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुले अहिलको सेयर बजारको बढोत्तरी कति स्वभाविक भन्ने प्रश्न खडा भएको छ ।
घाटामा रहेको होटलहरुको सेयर मूल्यमा लगातार वृद्धि हुनुले स्वार्थ समूहले कर्नरिङ गरी चलखेल गरेको अनुमान समेत गरिएको छ । यसअघि अन्य क्षेत्रमा नाफा कमाएकाहरु यस क्षेत्रमा सिफट् हुँदा पनि सेयरमा मूल्य बढेको लगानीकर्ताहरु बताउँछन् ।
राम्रा कम्पनीहरु र बैंकहरु नबढ्ने तर थोरै सेयर जारी भएका, साना र नराम्रा कम्पनीहरु निरन्तर बढ्ना ठूला लगानीकर्ताले यो महामारीमा सेयर बजारलाई कमाउने भाँडो बनाएको र अन्ततः साना र नयाँ लगानीकर्ताहरु फस्ने वातावरण निर्माण भएको तथ्य सहजै देखिन्छ ।
उदाहरणको लागि होटलका सेयरहरुलाई नै लिन सकिन्छ । होटलहरुको वित्तीय विवरण केलाउने हो भने चालू आर्थिक वर्षमा नेप्सेमा सूचीकृत ३ वटै होटलहरु घाटामा छन् ।
कुन होटलको वित्तीय अवस्था कस्तो छ ?
ओरियन्टल होटल : चालू आवको चैत मसान्तसम्म ओरियन्टल २१ करोड ११ लाख ४८ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ४६ लाख नाफामा रहेको ओरियन्टल कोरोनाका कारण व्यापार व्यवसाय ठप्पप्राय हुँदा यो वर्ष घाटामा गएको हो ।
यस्तै, चैत मसान्तसम्म ओरियन्टलको सञ्चालन नोक्सानी १८ करोड ३४ लाख ९७ हजार रुपैयाँ रहेको छ । हाल १ अर्ब १२ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ओरियन्टलको जगेडा कोषमा ८८ करोड ८५ लाख रुपैयाँ छ ।
तेस्रो त्रैमासिक रिपोर्ट अनुसार होटलको प्रतिसेयर आम्दानी १८.७२ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २००.३५ रुपैयाँ छ ।
सोल्टी होटल : चैत मसान्तसम्म १३ करोड ६६ लाख ३८ हजार रुपैयाँ खुद घाटामा रहेको छ । गत वर्ष सोही अवधिसम्म ३० करोड ८७ लाख आम्दानी गरेको सोल्टीको खर्च ४४ करोड ४९ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म होटलको सञ्चालन नोक्सान १३ करोड ६२ लाख २७ हजार रुपैयाँ रहेको छ ।
तेस्रो त्रमाससम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब १२ करोड ३० लाख र कुल दायित्व ६० करोड ९९ लाख ४२ हजार रहेको छ । ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सोल्टीको जगेडा कोषमा ६७ करोड ५ लाख ६७ हजार रुपैयाँ संचित छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १.६२ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर आम्दानी १७.९६ रुपैयाँ छ ।
तारागाउँ रिजेन्सी होटल : चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तारागाउँ होटल १२ करोड ६५ लाख २३ हजार रुपैयाँ खुद घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म होटलले १२ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तारागाउँको संचालन खर्च मात्रै ११ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रमाससम्म कम्पनीको कुल सम्पत्ति ३ अर्ब १९ करोड ३६ लाख र कुल दायित्व १ अर्ब १५ करोड ५० लाख रुपैयाँ रहेको छ । १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सोल्टीको जगेडा कोषमा १५ करोड १९ लाख ६१ हजार रुपैयाँ संचित छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६.७१ रुपैयाँ ऋणत्मक रहेको छ भने प्रतिसेयर आम्दानी १११.२० रुपैयाँ छ ।