काठमाडौं । सेयर बजारले आफ्नो कीर्तिमानी यात्रा कायमै राखेको छ । विकास बैंक, फाइनान्स र हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उछाल आउँदा नेप्सले फेरि ऐतिहासिक कीर्तिमानी बनाएको छ ।
आज नेप्सेले २९८३ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से २९८० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि जेठ २५ गते नेप्सेले सर्वाधिक २९६० विन्दु चुमेको थियो ।
सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । आज एकै दिन १९ अर्ब ५५ करोड बढीको कारोबार भएको छ । यो एकैदिन सर्वाधिक कारोबार भएको इतिहासकै धेरै हो । यसअघि गत मंगलबार सर्वाधिक १७ अर्ब २७ करोड कारोबार भएको थियो ।
आज सेयर बजार मापक सूचक नेप्से ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ३६३ रुपैयाँ बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ८.२४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको परिसूचक ७ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २२० कम्पनीमध्ये १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ७२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा लुम्बिनी विकास बैंक ५८ करोड र नेशनल हाइड्रोपावर ५४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ३ दर्जन बढी कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स, होटलर हाइड्रोपार कम्पनी रहेका छन् ।
श्री इन्भेष्टमेन्ट, आइसीएफसी, समृद्धि फाइनान्स, कर्णाली विकास बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर, पञ्चकन्या माइ, घलेम्दी, सीईडीबी, शिवश्री, नेशनल, जोशी हाइड्रोपावर, माउन्टेन इनर्जी, गुह्येश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनानस, तारागाउँ होटल, ओरेन्टल होटल, सोल्टी होटलका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
यसैगरी, जानकी फाइनान्स, एचआइडीसीएल, ङादी ग्रुप, सेन्टर फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, पाँचथर पावर, आँखुखोला, छ्याङ्दी, युनियन, दिव्यश्वरी, रैराङ, लिबर्टी, हिमाल दोलखा हाइड्रोपावर, मल्टिप्रपोज फाइनान्स र ज्योति विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बढ्दो बजारमा आज नेशनल इन्स्योरेन्सकासेयरधनीले सबैभन्दा धेरै ४.१५ प्रतिशत गुमाएका छन् ।