काठमाडौं । हाइड्रो इलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडीसीएल)को सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।शतप्रतिशत हकप्रदका लागि बुकक्लोज भइ मूल्य समायोजन भएपछि लगानीकर्ता कम्पनीको सेयरमा आकर्षित भएका हुन् ।
कम्पनीको मूल्य समायोजन हुँदा सेयर भाउ झन्डै आधाले घटेपछि लगानीकर्ता कम्पनीको सेयरमा आकर्षित भएका हुन् ।
बिहीबार प्रतिकित्ता ५८६ रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको सेयर मूल्य समायोजन भइ आज ३४३ रुपैयाँमा खुलेको थियो । कारोबारमा आएको केही मिनेटमा नै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढेर ३७७ रुपैयाँ पुगेको छ ।

कारोबार खुलेको २५ मिनेट (११ः२५ बजेसम्म) कम्पनीको २३ लाख ७० हजार बढी कित्ता खरिदका लागि अर्डर भएको छ । जबकी विक्री कर्ता भने शून्य रहेका छन् ।
केही साता अघि प्रतिकित्ता ६०६ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर अहिले झन्डै आधा मूल्यमा आएपछि लगानीकर्ता किन्न मरिहत्ते गरेका हुन् ।
हाल ११ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको १०० प्रतिशत हकप्रद निष्काशन पछि चुक्ता पूँजी २२ अर्ब पुग्ने छ ।