काठमाडौं । विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा ४० जिल्लामा विद्युत्तीकरण सम्पन्न गर्नेे योजना बनाएको छ । यस योजनालाई महाअभियानका रुपमा प्राधिकरणले अघि बढाउन लागेको हो ।
चालु आर्थिक वर्ष २०७६/७७ लाई विद्युत्तीकरणको महाअभियानका रुपमा लिइएको विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले बताए ।
आज आयोजीत ३४ औँ वार्षिक कार्याक्रममा बोल्दै उनले यो आवमा ४० जिल्लालाई विद्युतीकरण गरिने बताएका हुन् ।
‘१ वर्ष ४० जिल्लालाई पूर्णरुपमा विद्युत्तीकरण गर्नुपर्ने छ, यसलाई पूर्ण रुपमा सफल पार्नुपर्ने छ,’ घिसिङले भने ।
हाल लागत अनुमानको तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ । बजेट स्वीकृत भएपछि कार्तिक महिनाभित्र बोलपत्र प्रकृया सम्पन्न गरी ठेक्का सम्झौता गरिने प्राधिकरणको भनाई रहेको छ ।
विगतका वर्षहरुमा घाटामा रहेकोे प्राधिकरण २०७३/७४ देखि यता लगातार नाफामा आएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७५/७६ सालमा प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । विद्युत चहावट न्यूनीकरण गर्ने क्रममागत वर्ष सबैभन्दा कम १५.३२ प्रतिशतमा झरेको छ ।
गत आवमा ३८ वटा अलपत्र योजना पूरा गरिएको छ । आगामी दिनमा गेम चेन्जर आयोजनाहरु अघि बढाउन मौका मिल्ने घिसिङले बताए ।
‘यो उपलब्धीले अर्को वर्षको लागि च्यालेन्ज थप गरेको छ, यो वर्षभन्दा अर्को वर्ष अझ बढि लक्ष्य पूरा गर्ने पर्ने छ,’ घिसिङले भने ।
उनले प्राधिकरणले हरेक पटक लक्ष्य पूरा गर्दै अघि बढेको र गत वर्ष घाटा १८ प्रतिशतमा पुर्याइएको जानकारी दिए । यो घाटालाई कम गर्दै यो आर्थिक वर्षमा १५ प्रतिशत पुर्याउने उनले बताए ।
यस्तै आर्थिक वर्ष २०७५/७६ सालमा ३ अर्ब नेट प्रोफिट गर्ने लक्ष्यमा ७ अर्ब २० करोड रुपैयाँ नेट प्रोफिट भएको थियो ।
यो आर्थिक वर्षमा साढे ८ अर्ब नेट प्रोफिट हुने लक्ष्य प्राधिकरणले राखेको छ ।