कुखुराको चल्ला उत्पादन ठप्प, असारदेखि चल्ला र मासुको मूल्य बढ्ने

काठमाडौं । कुखुराको चल्ला उत्पादन ठप्प भएको छ । निषेधाज्ञाका कारण उत्पादित चल्ला विक्री हुन नसकेपछि व्यवसायीहरुले उत्पादन ठप्प पारेका हुन् ।

 

हुयाचरी संघका अध्यक्ष टीकाराम सापकोटाले निषेधाज्ञामा चल्ला उत्पादन ठप्प रहेको बताए । ‘यसअघि उत्पादन भएका चल्ला विक्री हुन नसक्दा किसानले ठूलो नोक्सानी बेहोर्नु पर्यो,’ सापकोटाले चाणक्य पोष्टसँग भने, ‘निषेधाज्ञा कहिलेसम्म लम्बिने हो ठेगान छैन, उत्पादित चल्ला, दाना लगायत सामग्रीको ढुवानीमा समस्या छ । त्यसैले किसानले अहिले उत्पादन नै बन्द गरेका छन् ।’

 

यद्यपि, पछिल्लो समय क्रमशः माग बढे पनि सो अनुसार उत्पादन हुन नसकेको उनले बताए । माग बढेसँगै चल्लाको मूल्यसम्म वृद्धि हुन थालेको छ । निषेधाज्ञा अघि प्रतिगोटा ३५ देखि ४० रुपैयाँ हाराहारी पर्ने चल्लाको मूल्य अहिले ५० रुपैयाँ पुगेको छ भने आगामी दिनमा अझै बढ्ने देखन्छ ।

 

निषेधाज्ञा शुरु भएदेखि ह्याचरी व्यवसायीहरुले चल्ला उत्पादन रोकेका छन् । पछिल्लो समय माग बढेसँगै चल्लाको मूल्य बढ्ने क्रममा रहेको छ । हाल कुखुराको चल्लाको मूल्य वृद्धि भएर ५० रुपैयाँ पुगेको छ भने भविष्यमा १०० रुपैयाँसम्म पुग्ने सक्ने किसानको अनुमान छ ।

 

नेपाल ह्याचरी तथा ब्रिडिङ फामका सञ्चालक रामहरी ढकाल निषेधाज्ञमा उत्पादन गरे पनि किन्न नहुँदा उत्पादनै रोकेर बसेको बताउँछन् ।उनले निषेधाज्ञमा डेलिभरी गर्न नसक्ने भएकाले ह्याचरी नै बन्द गरी उत्पादन रोक्न बाध्य भएको बताए ।

 

‘लकडानउनमा डेलिभरी गर्न सकिँदैन, म त कोरोना लागेकोले सबै बन्द गरेर बसेको छु, धेरैको हालत यस्तै छ, चल्ला उत्पादन गरेपनि बेच्ने ठाउँ र वातावरण नभएकाले यसरी बस्नु परेको छ,’ ढकालले चाणक्य पोष्टसँग भने ‘ केही सक्नेले चल्ला उतपादन गरे होलान अहिले अलि अलि माग त्यसैले धानेको छ, महंगी पनि बढेको छ ।’

 

कुखुराको चल्ला उत्पादन गरेपछि होल्ड गरेर राख्न नसकिने उनको भनाइ छ । होल्ड गरेर राख्दा दानामा धेरै खर्च हुने भएकाले नबेचे त्यसको लागत उठाउन नसकिने हुँदा उत्पादन नै बन्द भएको उनले बताए ।सामान्य अवस्थामा सातामा ३५ लाखभन्दा बढी कुखुराको चल्लाको माग रहेको थियो ।

 

मासु विक्री नहुँदा किसान मारमा, आगामी दिनमा मासुको समेत मूल्य बढ्ने

 

यस्तै, कुखुराको मासुको मूल्यमा हाल किसानले घाटा बेहोर्नु परेको सापकोटाले बताए । कुखुराको उत्पादन मूल्य प्रतिकुखुरा २२५ रुपैयाँ रहेको छ । किसानहरुले १८० रुपैयाँमा कुखुरा विक्री गर्नुपर्ने बाध्यता रहेको छ । कुखुरामा किसानले ४५ रुपैयाँसम्म घाटा बेहोर्नु परेको छ ।

 

‘कुखुरामा किसानले पूरै घाटा बेहोर्नु परेको छ, २२५ रुपैयाँमा उत्पादन हुने कुखुरा १८० रुपैयाँमा बेच्नु पर्दा किसान कसरी उठ्न सक्छन्, कुखुरा व्यवसायबाट किसान पलायन हुने अवस्था सृजना भइरहेको छ,’ सापकोटाले चाणक्य पोष्टसँग भने ‘अब लकडाउन सकिएलगतै मूल्य बढ्छ, नबढाइ सुख छैन, किसानलाई मार्न सकिँदैन ।’

 

कुखुराको मासुको खपत काठमाडौंमा ३० प्रतिशत मात्र रहेको छ । कुखुराको माग काठमाडौंमा ७० प्रतिशत हुने गर्थ्यो । लकडाउनमा होटल, रेष्टुरेन्ट, सबै बन्द भएपछि खपत घटेको हो ।

 

उपत्यका बाहिर भने कुखुराको मासुको खपत पहिलेकै जस्तो रहेको उनले बताए । उपत्यकाबाट धेरै मानिसहरु गाउँ फर्केकाले अपत घटेको हुन सक्ने बताए । विगतमा उपत्यका भित्र ४ लाख केजी मासु खपत हुने गरेको थियो ।

 

हाल चल्ला उत्पादन नभएकाले आगामी दिनमा मासुको मूल्य पनि बढ्ने व्यवसायीहरु बताउँछन् । हाल घाटामा बेचे पनि निषेधाज्ञा हटेपछि क्रमशः खपत बढ्ने र माग अनुसार उपलब्ध नहुने हुँदा भाउ बढ्ने उनीहरुको भनाइ छ । अबको केही महिनामा कुखुराको मासुको मूल्य प्रतिकेजी ४५० देखि ५०० रुपैयाँसम्म पुग्ने सम्भावना रहेको व्यवसायीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गरे १८ औं पटक मन्त्रिमण्डल विस्तार, यी हुन् उनका सारथीहरु Read Previous

प्रधानमन्त्री ओलीले गरे १८ औं पटक मन्त्रिमण्डल विस्तार, यी हुन् उनका सारथीहरु

अब २ दुई महिना मेलम्चीको पानी नआउने Read Next

अब २ दुई महिना मेलम्चीको पानी नआउने