प्रधानमन्त्री ओलीले गरे १८ औं पटक मन्त्रिमण्डल विस्तार, यी हुन् उनका सारथीहरु
चाणक्य पोष्ट
प्रकाशित : 4:07 pm, बिहीबार, जेठ २७, २०७८

काठमाडौं । स्थायी सरकारको नारा दिएर सत्तामा पुगेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले ३ वर्षमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।

 

संघीय संसदको प्रतिनिधिसभा विघट्न गरी आफैं कामचलाउन भए यता प्रधानमन्त्री ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका हुन् ।ओलीले आज ८ जना मन्त्री नियुक्त गर्दै २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

 

जेठ २१ गते मात्रै कामचलाउ अवस्थामा मन्त्रिपरिषद् विस्तार गरेका ओलीले आज पुनः गठन गरेका हुन् ।

 

२०७४ फागुनमा सत्तामा आएका ओली यस अवधीमा आफैं दोस्रोपटक प्रधानमन्त्री बनेका हुन् । उनले यस अवधिमा ६७ जनालाई मन्त्री बनाएका छन् ।

 

झन्डै दुईतिहाइ बहुमतसहित शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले तीन वर्षपछि वैशाख २७ गते विश्वासको मतसमेत पाउन सकेनन्। त्यसपछि प्रतिनिधि सभामा प्रतिनिधित्व रहेका दलमध्ये ठूलो दलको रुपमा अल्पमतको प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत नलिई जेठ ७ गते प्रतिनिधि सभा विघटन गरेका थिए ।

 

आफ्नै पार्टीका सांसदको मत समेत पाउन नसकेका ओलीले आफ्नो सत्ता टिकाउन जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षलाई ११ मन्त्रालय दिएर मन्त्रिमण्डल गठन गरेका छन् ।

 

यी हुन् आज नियुक्त भएका मन्त्रीहरु

 

ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गरेका छन् । । नैनकला निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् ।

 

त्यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ छन् । साह माओवादीबाट एमालेमा आएकी हुन् । उद्योग मन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विक रहेकी छन् ।

 

यस्तो छ ओलीको २५ सदस्यीय मन्त्रिमण्डल