सिटिजन्सको विशेष सभाले पारित गर्‍यो सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव
चाणक्य पोष्ट
प्रकाशित : 2:12 pm, बिहीबार, जेठ २७, २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बिहीबार सम्पन्न विशेष साधारणसभाले सिर्जना फाइनान्स प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

 

बैंकका अध्यक्ष राजनसिंह भण्डारीले राखेको सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

 

विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सको विशेष साधारणसभाले पनि सिर्जना फाइनान्सलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ ।

 

दुवै बैंक तथा फाइनान्सको विशेष साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्न बाटो खुलेको हो । यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार गर्ने बैंकको तयारी छ ।

 

सिटिजन्सले सिर्जनालाई १००ः९५ सेयर अनुपातमा प्राप्ति गर्न लागेको हो । जेठ २६ गतेसम्मको तथ्यांकको आधारमा बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ ।

 

प्राप्तिपश्चात् बैंकको कुल शाखा १८९ हुनेछ । बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछि १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

 

बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्ने बैंकले जनाएको छ ।