काठमाडौं। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै इ-कमर्श व्यवसायीहरुले अनलाइन तथा होम डेलिभरी सेवा सुचारु गरेका छन् ।
सोमबार न्यायाधीशद्धय डा. कुमार चुडाल र सपना प्रधान मल्लको संयुक्त इजलासले निषेधाज्ञाको समयमा इ-कमर्श व्यवसाय संचालन गर्न दिन अवरोध नगर्न अन्तरिम आदेश दिएसँगै अनलाइन व्यापार तथा होम डेलिभरी सेवा खुलेको हो ।
अनलाइन फुड डेलिभरी कम्पनी भोजडिल्सका संस्थापक निकेत अग्रवालसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ जेठ ३ गते निजी कम्पनीहरुले पनि निषेधाज्ञामा व्यवसाय संचालन गर्न पाउनु पर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चको अन्तरिम आदेशसँगै खाद्य वस्तु, डेरी, सौन्दर्य सामाग्री, बच्चाका सरसामान, व्यक्तिगत सरसफाई, कुकुर र माछाका आहार तथा मासु र फ्रोजन मिटका परिकारसहित ५७ वस्तुको होम डेलिभरी खुला भएको छ । अब यी वस्तु डेलिभरी गर्ने सेवा प्रदायकलाई निषेधाज्ञाको बाहना बनाउँदै जिल्ला प्रशासनहरुले रोक्न पाउने छैनन् ।
सर्वोच्चको आदेश अनुसार सेवा प्रदायकले स्वास्थ्य मापदण्डको पालाना गर्दै सेवा प्रदान गर्नु पर्नेछ । डेलिभरीकर्ता पीसीआर नेगेटिभ भएको, पीपीई, मास्क, पन्जा लगाएको, सामाजिक दुरी कायम गरेर वस्तुको डेलिभरी गर्नुपर्नेछ ।
सर्वोच्चको आदेश अनुसार होम डेलिभरी गर्न पाइने वस्तुहरु :
१. खाद्य वस्तुहरु : चामल तथा यसबाट बनेका परिकारहरु, दलहन गेडागुडी, चिनी, नुन, खाने तेल, हरियो तरकारी, फलफूल, पानी, चाउचाउ र यसका परिकार, बिस्कुस्ट तथा कुकीज, ब्रेकफास्ट र यसका लागि आवश्यक खाद्य वस्तु, डेरी तथा दूधका परिकार, मासु तथा माछा, फ्रोजन फूड, गहुँ तथा पिठो, मसला, दूध तथा दूधजन्य पदार्थ, ड्राई फ्रूट्स, चिया तथा कफी, सफ्ट ड्रिङ्क्स ।
२. बेबी प्रडक्टहरु : बच्चाले पिउने दूध र यसका परिकार, डाइपर, वाइप्स्, बच्चाका खाद्यन्न, बच्चाको खाद्य आहारका लागि आवश्यक वस्तुहरु ।
३. छाला तथा यसका स्याहार उत्पादनहरु, कपाल स्याहार र यसका उत्पादनहरु ।
४. व्यक्तिगत स्याहारका वस्तुहरु: साबुन, फेसवास, सर्फ, स्याम्पो, मुख र यसको स्याहारका उत्पाद, सेभिङ प्रडकट, स्यानीटरी प्याड तथा यसका आवश्यक उत्पादनहरु, व्यक्तिगत ग्रुमिङका उत्पादन ।
५. व्यक्तिगत सुरक्षा सामग्रीहरु: फेस मास्क, स्यानिटाइजर, पञ्जा ।
६. कुकुरका आहार र स्याहारका वस्तुहरु : पेट फूड, पेट स्याहार सामाग्री, औषधी ।
७. घरयासी स्यानिटेसनका सामाग्रीहरु : ट्वाइलेट फ्लोर कोठा क्लिनर, स्यानीटरी न्यापकिन, डेटरजेन्ट, टिस्युपेपर, लामखुट्टे धपाउने वस्तुहरु ।
८. कृषि बिउ बिजन, औजार र औषधी तथा त्यससँग सम्बन्धित उत्पादनहरु ।