३० अर्ब लगानीका फुटवेयर उद्योगहरु संकटमा, ५० प्रतिशतको उत्पादन ठप्प
गीता भुजेल
प्रकाशित : 9:24 am, बुधबार, जेठ २६, २०७८

काठमाडौं । गत वर्षकै लकडाउनले संकटमा पुगेका फुटवेयर उद्योगहरु पछिल्लो समय क्रमशः तंग्रिन थालेका थिए । तर, यस वर्ष पनि १ महिनाभन्दा लामो निषेधाज्ञाका कारण पुनः संकटमा पुगेका छन् ।

 

अहिले अधिकांश उद्योगहरु संकटग्रस्त बन्न थालेका छन् ।निषेधाज्ञाका कारण कामदार अभावमा उत्पादन गर्न सकेका छैनन् भने उत्पादित वस्तु पनि विक्री हुन सकेको छैन । त्यस्तै, कारोबार नै बन्द हुँदा बैंकको ऋण तथा ब्याज तिर्न नसक्ने अवस्था सृजना भएको उद्योगीहरु बताउँछन् ।

 

निषेधाज्ञाका कारण ५० प्रतिशत बढी उद्योगको उत्पादन पूर्णरुपमा ठप्प रहेको छ भने संचालनमा रहेका उद्योगहरुले पनि आंशिक रुपमा उत्पादन गरिरहेका नेपाल फुटवेयर उत्पादक संघले जनाएको छ ।

 

सरकारले उद्योग कलकारखाना सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि ५० प्रतिशत मात्र कामदार राखेर खानबस्न दिन सक्ने अवस्था नरहेको नेपाल फुटवेयर उत्पादक संघका उपाध्यक्ष नानीराज घिमिरेले बताए ।

 

फुटवेर क्षेत्रमा ३० अर्ब रुपैयाँ बढी लगानी रहेको छ । हाल निषेधाज्ञका कारण ५० प्रतिशत बढी लगानी घाटामा रहेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय ऋणमा रहेका उद्योगीहरु ठूलो मारमा परेका छन् । कच्चा पदार्थ र जनशक्ति नहुँदा उद्योग सञ्चालनमा आउन सकेको छैन ।

 

‘कच्चा पदार्थ छैन, जनशक्ति छैन, उत्पदान गरे पनि बजार छैन, विक्री नभएपछि कसरी लगानी उठाउनु,’ उपाध्यक्ष घिमिरेले चाणक्य पोष्टसँग भने ।

 

यस क्षेत्रमा १५ सय बढी उद्योगहरु रहेका छन् । सो मध्य १५ देखि २० प्रतिशत उद्योग ऋण तथा अन्य समस्याका कारण बन्द हुने अवस्थामा पुगेको घिमिरेले बताए । सो उद्योगमा १० हजार बढी काम दारहरुले प्रत्यक्ष काम गर्दै आएका थिए । हाल उक्त कामदारहरुले तलब पाउन नसकेको अवस्था छ । धेरै जसो जनशक्ति आफ्नै गाउँ फर्किसकेका छन् । यस्तै उद्योगहरुमा ५ लाख टन बढी कच्चा पदार्थ स्टक रहेको छन् । सो कच्चा पदार्थ प्रयोग विहीन अवस्थामा रहेका छन् ।

 

रज्यले जुत्तामा आत्मनिर्भर हुनका लागि राम्रो वातावरण मात्र सृजना गर्न सके जनशक्ति समेत उद्योगी आफैले उत्पादन गर्ने उनले बताए । उनले सरकारले जुत्ता उत्पादन उद्योगीहरुलाई पछाडी पारेर परनिर्भरतातर्फ मात्र लागेको आरोप लगाए ।

 

सरकारले अहिलेसम्म जुत्ता उत्पादन गर्ने उद्योगहरुको कुनै क्षतिको तर्जुमा गरेको छैन । उनीहरुलाई क्षतिपूर्ती वा राहतको व्यवस्था गरेको छैन ।

 

फुटवेर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिक्ता दिनु पर्ने उनको भनाइ छ । उनले आयात बढी हुनाले स्वदेशी उत्पादनमा ह्रास आएको बताए ।उनले सरकारले लगानी सुनिश्चित्ता गर्नुपर्ने बताए । सरकारले आगामी बजेटमा जनशक्ति उत्पादनका लागि तालिम दिने विषय स्वागत योग्य रहेको उनले बताए ।

 

भन्सार विभागको तथ्यांकले भने आयात वृद्धि भइरहेको देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामा ६ अर्ब ७२ करोड ७५ लाख रुपैयाँ बराबरको फुटवेर सामग्री आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा कुल ५ अर्ब ६९ करोड ८ लाख रुपैयाँ बराबरको जुक्ता चप्पल आयात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा कुल ७ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको थियो ।

 

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा कुल ४ अर्ब २७ करोड १५ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल तथा कच्चा पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ७३/७४ मा कुल ३ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको थियो ।