काठमाडौं । सेयर बजारमा उछाल आएकोे छ । विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्यमा उछाल आउँदा नेप्सले फेरि ऐतिहासिक कीर्तिमानी बनाएको छ ।
आज नेप्सेले २९६० विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से २९६० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि यही आइतबार नेप्सेले सर्वाधिक २९०६ विन्दु चुमेको थियो ।
सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । आज एकै दिन १९ अर्ब ९५ करोड बढीको कारोबार भएको छ । यो एकैदिन अहिलेसम्म भएको तेस्रो धेरै कारोबार हो ।
आज सेयर बजार मापक सूचक नेप्से ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँ बराबरको ३ करोड ५७ लाख ४२४ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक र फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २१८ कम्पनीमध्ये १५१कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा रसुवागढी हाइड्रोपावरको ४७ करोड र युनाइटेड हाइड्रोपावर ३७ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
उच्च अंकले बढेको बजारमा आज करिब ३ दर्जन कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश विकास बैंक र फाइनान्स कम्पनी रहेका छन् ।
मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, जानकी, श्री इन्भेष्टमेन्ट, गोर्खा फाइनान्स र हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, ज्योति विकास, कर्णाली डेभलपमेन्ट, प्रोग्रेसिभ, मल्टिप्रपोज, गुह्येश्वरी, गुडविल, मञ्जुश्री, नेपाल फाइनान्स, महालक्ष्मी, सप्तकोशी, साइन रेसुंगा, गरिमा, कामनासेवा विकास बैंक, वरुण, रिडी, रसुवागढी, पञ्चकन्यामाइ हाइड्रोपावरका सेयर धनीले १० प्रतिशत कमाएका छन् ।
यस्तै, युनिभर्सल पावर, आइसीएफसी, सेन्टर, पोखरा, रिलायन्स, बेस्ट, समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बढ्दो बजारमा आज मेरो माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै २.८५ प्रतिशत गुमाएका छन् ।