काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा नेपाली सेयर बजारको सबैभन्दा ठूलो कम्पनी बनेको छ ।
आज पुनर्बीमाको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँले बढेसँगै पूँजीकरणका आधारमा टेलिकमलाई पछि पार्दै सबैभन्दा ठूलो कम्पनी बनेको हो ।
नेप्सेका अनुसार आज पुनर्बीमाको बजार पूँजीकरण १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो दोस्रो स्थानमा झरेको टेलिकमकोभन्दा ३५ करोड बढी हो । टेलिकमको पूँजीकरण १ खर्ब ८९ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
पछिल्लो तीन साता यता लगातार सेयर मूल्य बढेसँगै पुनर्बीमा सबैभन्दा धेरै पूँजीकरण हुने कम्पनी बन्न सफल भएको हो । तीनसाताको अवधिमा पुनर्बीमाको सेयर मूल्य प्रतिकित्ता ४५० रुपैयाँभन्दा धेरैले बढेको छ । जेठ पहिलो साता प्रतिकित्ता १४५० रुपैयाँ रहेको पुनर्बीमाको सेयर मूल्य बढेर आज १९०१ रुपैयाँ पुगेको छ ।
लामो समयसम्म सबैभन्दा धेरै पूँजीकरण हुने कम्पनी बनेको टेलिकमलाई पुनर्बीमाले कारोबारमा आएको १ वर्षमै पछि पारेको हो । गत असारबाट कारोबारमा आएको पुनर्बीमा कम्पनीको सेयरमूल्य १ वर्षमै करिब २ हजार नजिक पुगेको छ ।
टेलिकमको चुक्ता पूँजी पुर्नबीमाकोभन्दा डेढ गुणा बढी भए पनि सेयर मूल्य उच्च भएसँगै पुनर्बीमा शीर्ष स्थानमा पुगेको हो । हाल टेलिकमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने पुनर्बीमाको १० अर्ब रुपैयाँ रहेको छ ।
सोमबार टेलिकमको सेयर मूल्य प्रतिकित्ता १२६५ रुपैयाँ रहेको छ भने पुनर्बीमाको १९०१ रुपैयाँ छ ।