भक्तपुर-धुलिखेल सडक ६ लेनमा विस्तार पुनः थालिँदै, ७ अर्बको टेन्डर प्रक्रियामा
चाणक्य पोष्ट
प्रकाशित : 4:22 pm, सोमबार, जेठ २४, २०७८

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक आयोजनाको प्रक्रिया पुनः थालिने भएको छ । यसका लागि ६लेनको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको जनाइएको छ ।

 

केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो ।

 

उक्त सडकखण्ड विस्तारको प्रक्रिया आगामी आर्थिक वर्षको शुरुआतसँगै पुनः थालिने सडक विभाग, योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । “नयाँ आर्थिक वर्षको शुरुआतसँगै आयोजनाको प्रक्रिया थालिनेछ”, उनले भने। उनका अनुसार सकेसम्म लगानीकर्ता खोजिनेछ, नभए सरकार आफैँले निर्माण गर्नेछ ।

 

उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समेत छलफल भइरहेको नेपालले बताए । सो सडक करीब १५ किलोमिटर लम्बाइको छ ।

 

सङ्घीय राजधानीबाट वाग्मती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट प्रदेश नं १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् ।

 

विस्तारका क्रममा निर्माण हुने ६ लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस लेन हुने जनाइएको छ । छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिनेछ ।

 

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित १.२९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे समेत छलफल भइरहेको जनाइएको छ । सुरुङमार्ग भने दुई लेनको हुनेछ भने सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने डिजाइनमा उल्लेख गरिएको छ ।

 

आयोजनाका लागि करीब ७ अर्बको टेन्डर आह्वान हुने प्रक्रियामा रहेको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार हाल आयोजनाको डिजाइन सकेर स्वीकृतिको चरणमा रहेको छ । “आयोजना सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम हुन्छ, यसले सडक विस्तारमा अर्को फड्को मार्नेछ”, उनले भने। उनका अनुसार आउँदो आर्थिक वर्षको बजेटमा समेत उक्त सडक विस्तार आयोजना सामवेश गरिएको छ ।

 

करीब दशकपहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारको अघिल्लो प्रक्रियामा पनि चासो देखाएको थियो । सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइन अनुसारको काम गर्न नसक्ने जाइकाले जनाएको थियो ।

 

त्यसबेला सरकारसँग आयोजनाको बजेटमा सुरुङमार्गको योजना हटाएर पनि लागत कम गर्न अनुरोध गर्दै जाइकाले तारतम्य नमिलेको आरोप लगाउँदै हात झिकेको बताइन्छ । त्यसयता सरकारले आफैँ निर्माण गर्ने जनाउँदै आएको छ ।

 

सरकारले चालू आर्थिक वर्षमा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार शुरु गर्न १ अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । समयसमयमा जाइकाले उक्त आयोजनामा चासो दिइएको बताइए पनि कोभिड–१९ का कारण एक वर्षदेखि कुनै निकायद्वारा प्रक्रिया थालिएको थिएन ।

 

डिभिजन सडक कार्यालय भक्तपुरले भने गत वर्षदेखि सडक निर्माणस्थल खाली गराउन रूख कटानलगायतको काम गर्दै आएको छ । सडक विस्तार सम्पन्न भए पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ ।

 

जाइकाका अधिकारीका अनुसार त्यसबेला २३ अर्ब रुपैयाँ लागतको प्रस्ताव गरेको जनाइएको छ । उसले सडक विस्तारका क्रममा जग्गासमेत लिनुपर्दा ४२ अर्ब रुपैयाँ लाग्ने अनुमानसमेत गरेको जनाइएको छ ।

 

जाइकासँग उक्त सडकखण्ड विस्तारसँगै जडीबुटी अन्डरसापास वा प्लाई ओभारसमेत निर्माणको छलफल भएको थियो । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेलगत्तै जाइकाले सन् २०११ मै सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको प्रारम्भिक अध्ययन गरेको जनाएको थियो ।