प्रदीप ज्ञवालीको ‘ब्यालेन्स सिट’ : लोकरिझ्याईंका लागि फालिएको कागजी चिर्कटो
चाणक्य पोष्ट
प्रकाशित : 2:51 pm, आइतबार, जेठ २३, २०७८

काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री पदबाट बाहिरिएपछि आफ्नो ‘सम्पत्ति विवरण’ सार्वजनिक गरेपछि त्यसको चर्चा समाजमा चुलिएको छ ।

 

विशेषगरी सामाजिक सञ्जालमा यसलाई सकारात्मक रूपमा लीयएको छ । उनले झन् आफ्नो मन्त्रीत्वकालमा २०० वटा पुस्तक खरिद गरेको विषय सार्वजनिक गरेपछि त झन् उनको उनी ‘बौद्धिक’ नेताको रूपमा ‘बरकरार’ रहने नै भए ।

 

यसै सम्दर्भमा प्रतिनिधि विचारको रूपमा पत्रकार समा थापा ट्वीटरमा लेख्छिन्, ‘धन्यवाद, पद त अस्थायी हो, तर तपाईं स्थायी रूपमा सधैं मनमा सधैं मनमा बसि रहनु रहनु हुनेछ । विकृत नेपाली राजनीतिमा तपाईंंले देखाउनु भएको यो दुलर्भ गुणका लागि हामी सधैं सम्झिरहने छौं ।’

 

यो र यस्ता विचारहरूले नेपालको मूल समस्याको रूपमा भ्रष्टाचार र कुशासनलाई बुझेको देखिन्छ । यसै आधारमा आफ्नो मन्त्रीत्वकालमा ‘आर्थिक लेनदेनमा नमुछिएको र आफ्नो मन्त्रालयमा कुशासनलाई बढावा नदिएका’ कारण उनको प्रशंसा गरिएको र त्यसैलाई उनको ‘दुर्लभ गुण’को रूपमा बुझिएको देखिन्छ ।

 

एकैछिनलाई मानौं प्रदीप ज्ञवालीको मन्त्रीत्वकालका बारेमा उनी कुनै पनि माथि उल्लेखित गतिविधीमा संलग्न भएनन् रे । उनले सार्वजनिक गरेको वित्तीय विवरण सही नै छ रे । तर, के यसैका आधारमा नेपाली राजनीतिको मूल समस्या पर्गेल्न सकिन्छ त ?

 

के नेपाली राजनीतिको मूल समस्या पहुँचवालाहरूको आर्थिक लेनदेन र उनीहरूले प्रर्बद्धन गर्ने गरेको कुशासन मात्र हो त ?

 

वास्तवमा भ्रष्ट्राचार र कुशासन कुनै पनि देशको आधारभूत समस्या होइनन् । यी अन्य बृहत् र जटिल समस्याहरूको लक्षण मात्र हुन् । भ्रष्टाचार र कुशासन व्याप्त भएर नेपाल पछि परेको होइन । नेपाल पछि परेका कारण चाहिँ भ्रष्टाचार र कुशासन मौलाएको हो ।

 

त्यसो भए नेपाल के कारणले पछि पर्यो त ? अथवा नेपाल पछि पर्यो भन्नुको तात्पर्य के हो ?

 

वास्तवमा नेपालको प्रमुख समस्या भनेको यहाँको राजनीतिक प्रणाली हो । नेपालले अहिलेसम्म आफ्नो लागि उपयुक्त राजनीतिक प्रणाली दीर्घकालीन रूपले अवलम्बन गर्न सकेको छैन ।

 

राणा शासन पश्चात् थोरै समय नेपालले लोकतान्त्रिक व्यवस्था अवलम्बन गरेको थियो । राणाशासन विरुद्धको आन्दोलन लोकतन्त्रको स्थापना र जनताप्रति उत्तरदायी सरकार निर्माणका निमित्त थियो । तर त्यो व्यवस्था त्यति लामो समय टिक्न सकेन ।

 

राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था ल्याए । उनले त्यसलाई नेपालको हावा पानी सुहाउँदो राजनीतिक व्यवस्थाको रूपमा व्याख्या गरे । तर त्यसले नेपालको मूल समस्याहरू समाधान गर्न सकेन । त्यसको विरुद्ध बहुदलीय संसदीय व्यवस्थाका लागि समानान्तर रूपमा आन्दोलन चलिरह्यो ।

 

२०४६ सालमा बहुदलीय संसदीय व्यवस्था स्थापना भयो । बेलायती शैलीको उक्त व्यवस्थाले पनि नेपालका आधारभुत समस्या समाधान गर्न नसकेको भन्दै त्यसको विपक्षमा माओवादीले सशस्त्र आन्दोलन शुरु गर्यो । ज्ञानेन्द्र राजा भएपछि उनले पनि संविधान मिचेर आफ्नै प्रत्यक्ष शासन लादे । यी सबैको पृष्ठभूमिमा २०४७ सालको संविधान पनि मासियो ।

 

वास्तवमा नेपाल अत्यन्तै जटिल मुलुक हो । अत्यन्तै जटिल सामाजिक संरचना भएको यो देशमा सामाजिक न्यायका मुद्दाहरू व्यापकरूपमा छन् । असमान आर्थिक संरचनाहरू, भौगोलिक र भाषिक विभेद, लैङ्गििक विभेद, असमान राजनीतिक अधिकार इत्यादि नेपालका मौलिक र जटिल संरचनागत समस्याहरू हुन् ।

 

यी तमाम संरचनागत समस्याहरूका बारेमा माओवादी आन्दोलन, मधेश आन्दोलन र त्यसैको छेकोमा भएका अन्य विविध आन्दोलनका क्रममा व्यापक छलफल भएका छन् ।

 

यी तमाम छलफलका आधारमा व्यापक कमीकमजोरीका बीच नेपालको संविधानसभाले बडो कष्टसाथ अहिलेको संविधान निर्माण गरेको पनि हो । र, त्यसै संविधानको आधारमा, त्यसैलाई सुधार गर्दै र त्यसैले निर्दिष्ट गरेको राजनीतिक प्रणालीका माध्यमले नेपालका तमाम जटिल समस्याहरू समाधान गर्दै लैजाने कार्यदिशा नेपालले लिएको हो । संघियता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता जस्ता व्यवस्थाहरू संविधानमा उपलब्धीहरू हुन् ।

 

त्यसपछि नेपालमा विद्यमान भ्रष्टाचार र कुशासनका समस्याहरू पनि समाधान हुँदै जान्छन् भन्ने आशा गरिएको हो ।तर, खड्गप्रसाद ओलीको सरकारले किस्ता किस्तामा संविधान मिच्दै देशलाई प्रतिगमन तर्फ धकेल्ने र अहिलेसम्मका उपलब्धीहरू मास्दै जाने बाटो लिएको हो ।

 

ओलीका यी सबै कदमहरूको साक्षी मात्र नभएर मतियार र त्यसको प्रमुख बचाउकर्ताको रूपमा प्रदीप ज्ञवालीको भूमिका रहेको थियो ।

 

त्यसैले देशका जटिल समस्याहरूका बारेमा सश्लेषित ज्ञान र त्यसैका आधारमा निर्माण भएको संविधान मिच्ने, देशलाई प्रतिगमत तर्फ धकेल्न प्रमुख मतियारको रूपमा काम गर्ने र ती मुलुकका जटिल समस्याहरूले जन्माएका छेउ कुनाको समस्याहरू र प्रवृत्तिहरूमा आफू नहेलिएको ढोंग रच्दै लोकरिझ्याईंको लागि आफैंले एउटा कागजको चिर्कटो सार्वजनिक गर्ने प्रदीप ज्ञवालीको भण्डाफोर अहिलेको आवश्यकता हो ।