काठमाडौं । बैंकिङ क्षेत्र चम्किँदा सेयर बजारले ऐतिहासिक दोहोरो रेकर्ड बनाएको छ । आज एकैदिन नेप्सेले सर्वाधिक उच्च विन्दु र सर्वाधिक कारोबारको दोहोरो रकेर्ड बनाएको हो ।
नेप्सेले २९०६ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से २९०० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि गत बिहीबार नेप्से सर्वाधिक २८५६ विन्दु पुगेको थियो ।
सूचकसँगै आज कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड बनाएको छ । आज एकैदिन १७ अर्ब २७ करोड कारोबार हुँदै इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको हो । यसअघि गत आइतबार सर्वाधिक १७ अर्ब २ करोडको कारोबार भएको थियो ।यस्तै, नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ४० खर्ब ३३ अर्ब पुगेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ५०.१४ अंकले बढेर २९०६.९१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै१४५।१६ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ११२।६८ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१८ कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड र लुम्बिनी विकास बैंक ५४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।
गुडविल फाइनानस, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, नेपाल बंगलादेश बैंक ९ प्रतिशत, मेगा, मितेरी डेभलपमेन्ट, पोखरा फाइनान्स, निफ्रा र लक्ष्मी बैंकको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।
बढ्दो बजारमा आज राधी विद्युत् कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ८.५६ प्रतिशत गुमाएका छन् ।