काठमाडौं । पछिल्लो समय खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । अन्य खाद्यान्नको मूल्यमा सामान्य वृद्धि भए पनि खाने तेलको मूल्य भने अचाक्ली बढेको हो ।
निषेधाज्ञाका कारण होटल, रेष्टुरेन्ट लगायत धेरै तेल खपत हुने ठाउँहरु पूर्ण रुपम बन्द हुँदा माग घटे पनि मूल्य भने निरन्तर उकालो लागेको हो ।
पछिल्लो ३ महिनामै भटमास, तोरी, सनफ्लावर लगायत खाने तेलको मूल्य प्रतिलिटर ७५ रुपैयाँसम्म वृद्धि भएको छ । फागुनसम्म प्रतिलिटर १५० रुपैयाँ रहेको भटमासको तल अहिले बढेर २२५ रुपैयाँसम्म पुगेको छ । यस्तै, प्रतिलिटर २३० रुपैयाँ पर्ने सनफ्लावर तेल अहिले ३०० रुपैयाँ र २७५ रुपैयाँसम्म रहेकको तोरीको तेल ३३० रुपैयाँसम्म पुगेको छ ।
विदेशबाट आयात गरिने कच्चा पदार्थको मूल्य विश्व बजारमै बढेकाले नेपालमा पनि खाने तेलको भाउ बढेको तेल उत्पादकहरुले बताएका छन् । खाने तेल उत्पादकहरुको छाता सङ्गठन नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका अनुसार अन्तर्राष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा पनि खाने तेलको भाउ बढेको हो ।
संघका अध्यक्ष सन्दीपकुमार अग्रवाल विदेशबाटै महँगोमा कच्चा पदार्थ आयात गर्नुपरेकाले नेपालमा पनि भाउ बढ्नु स्वभाविक रहेको बताउँछन् । ‘उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ अप्रशोधित सोयाविन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ,’ उनले भने, ‘यसरी मुख्य कच्चापदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ । १६ महिनायता तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो ।’
हाल सङ्घमा २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल र सनफ्लावर तेल उत्पादन गरी स्थानीय बजारसँगै विदेशमा समेत निकासी गर्दै आएका छन् ।
सन् २०२० को मार्चमा प्रति मेट्रिक टन ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अवधिमा १ हजार २७९ डलर पुगेको उनको भनाइ छ । यस्तै एक वर्ष अगाडि प्रतिमेट्रिक टन ६५६ डलर रहेको सनफ्लावरको तेलको मूल्य १ हजार ५८० भएको छ । एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा बढेको हो ।
यता, उपभोक्ताहरुले निषेधाज्ञाको मौका छोपी व्यापारीहरुले मनपरी भाउ बढाउँदा मूल्य आकाशिएको आरोप लगाएका छन् । माग र खपत समेत घटेको अवस्थामा सामान्य मूल्य वृद्धि हुनु स्वभाविक भए पनि दुई महिनामै प्रतिलिटर ७५ रुपैयाँसम्म बढ्नु उत्पादकहरुको मनोमानी हाबी भएको उनीहरुको आरोप छ ।
यस्तै, उद्योगबाटै भाउ बढेर आउने भएकाले बजारमा पनि मूल्य बढ्नु स्वभाविक रहेको खुद्रा व्यापारीहरु बताउँछन् । ‘दुई महिना अघिको भन्दा अहिले उद्योग/होलसेलर बाटै प्रतिलिटर ४५ रुपैयाँसम्म भाउ बढेर आएको छ,’ एक व्यापारीले भने, ‘उताबाटै भाउ बढेर आएपछि यता व्यापारीले नाफाका लागि केही बढाएर बेच्छन् । त्यसैले अस्वभाविक भाउ बढेको देखिएको हो ।’
वाणिज्य आपूर्ती तथा उपभोग संरक्षण विभागले नियमित बजार अनुगमन भइरहेको बताए पनि अस्वभाविक मूल्य वृद्धि रोकिएको छैन । र व्यापारीले कालोबजारी गरेको पाइए कारबाही गर्ने बताउँदै आएको विभागले अहिलेसम्म खासै व्यापारी कारबाही गरिएको देखिएको छैन ।
आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार तेलहन बाली उत्पादन क्षेत्रफल २ लाख ५८ हजार हेक्टर रहेको छ । गत वर्ष सो क्षेत्रफलमा २७८ हजार मेट्रिकटन तेलहन बाली उत्पादन भएको थियो ।
चालू आवको १० महिनामा मात्रै करिब ४० अर्बको तेलजन्य कच्चा पदार्थ र तेल आयात भएको छ । गत आर्थिक वर्षमा कुल ५० अर्ब २२ करोड २३ लाख रुपैयाँ बराबरको खाने तेल आयात भएको थियो । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा २७ अर्ब २३ करोड ८८ लाख रुपैयाँ बराबरको तेल आयात भएको थियो ।