नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, कारोबार रकम किन ह्वात्तै घट्यो ?

काठमाडौं । सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । हिजो करिब ४५ अंकले घटेको बजारमा आज लगातार दोस्रो दिन गिरावट आएको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै ५ अर्बले घटेर साढे ८ अर्बमा सीमित भएको छ ।

 

प्रफिट बुक गर्ने हाबी हुँदा कारोबारमा भारी गिरावट आएको अनुमान गरिएको छ । राजनीतिक अस्थिरताका बीच निरन्तर उकालो लागेको बजारले पछिल्लो समय दैनिक सूचक र कारोबार रकममा रेकर्ड बनाउँदै आएको थियो ।

 

आज सेयर बजार मापक सूचक नेप्से १२.७१ अंकले घटेर २७७०.१२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह २१.४१ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १७६.६७ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१६ कम्पनीमध्ये जम्मा ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ५७ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा लुम्बिनी विकास बैंक ३० करोड र राधी विद्युत् कम्पनी २३ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा कालिका पावर कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।घट्दो बजारमा आज दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.०२ प्रतिशत गुमाएका छन् ।

आजदेखि चीनसहित ३ देशमा नियमित हवाइ उडान हुने Read Previous

आजदेखि चीनसहित ३ देशमा नियमित हवाइ उडान हुने

हिमालय एयरलाइन्सले तिब्बतबाट २ लाख डोज खोप निःशुल्क ल्याइदिने Read Next

हिमालय एयरलाइन्सले तिब्बतबाट २ लाख डोज खोप निःशुल्क ल्याइदिने