काठमाडौं । इन्टरनेट व्यवसायमा चौधरी ग्रुप प्रवेश गरेको छ । ग्रुपको सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा शुरु गरेको छ ।
उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको सीजीले जनाएको छ ।
सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । उपभोक्ताकेन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा बिल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ ।
सीजी नेट देशव्यापी इन्टरनेट सेवाप्रदायक (आइएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने जनाएको छ ।
भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइनकक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न सीजी नेटले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ ।
शुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको इन्टरनेट सेवाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
१२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने जनाइएको छ । उल्लेखित क्षेत्रका उपभोक्ताका घरमा यो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । २०७८ को अन्त्यसम्ममा देशभर सीजी नेट विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
हालका लागि सीजी डिजिटलका शाखा जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जनाइएको छ ।
सेवा शुभारम्भका अवसरमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको जनाइएको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, तीनमहिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुने कम्पनीले जनाएको छ ।
सीजी कम्युनिकेसन्स चौधरी ग्रुपअन्तर्गत सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी हो ।