काठमाडौं । चौतर्फी विरोधका बाबजूद कामचलाउन सरकारले अध्यादेश मार्फत चुनाव केन्द्रित बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
कोरोनाबाट आक्रान्त भएको बेलामा सरकारले उत्पादनमुखी भन्दा वितरणमुखी बजेट ल्याएको अर्थविद्हरुले बताएका छन्। अर्थतन्त्र उकास्न भन्दा भोटका लागि लोकरिझ्याइँ बजेट भएको उनीहरुको तर्क छ ।
सरकारले जनता खुसी पार्न बजेट मार्फत करिब ३ दर्जन क्षेत्रमा छुट दिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा न्यूनतम १० प्रतिशतदेखि अधिकतम शतप्रतिशतसम्म छुट सुविधा दिएको छ । बजेट अनुसार निम्न सेवामा छुट तथा सहुलियत दिने व्यवस्था गरिएको छ ।
१. खानेपानीमा छुट : नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले गार्हस्थ्य उपभोक्तालाई वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल शतप्रतिशत छुट । यसै महिनादेखि निःशुल्क उपलब्ध गराउने ।
२. औषधि आयातमा छुट : कोभिड १९ को उपचारमा प्रयोग हुने औषधि आयातमा भन्सार महसुल छुट ।
३. खाद्यान्न र ग्यासमा छुट : निषेधाज्ञा अवधिभर खाद्या व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट विक्री हुने चामल पीठो, दाल, नुन, खानेतेल, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट ।
४. विद्युत् महशुलमा छुट : निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइनेछ । उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई विद्युत डिमाण्ड शुल्कमा छुट ।
५. अक्सिजन उद्योगको उपकरण आयातमा छुट : अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पूरै छुट । सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पूँजीगत अनुदान । कोभिड १९ महामारी अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत शुल्कमा ५० प्रतिशत छुट ।
६. सरकारी घरजग्गाको भाडामा छुट : सरकारी र सरकारी स्वामित्वका निकायको घर, गोदाम वा जग्गा भाडामा लिई व्यवसाय गरेका व्यवसायीहरुले निषेधाज्ञा अवधिभरको भुक्तानी गर्नुपर्ने भाडामा ५० प्रतिशतसम्म छुट ।
७. आयकरमा छुट : आर्थिक वर्ष २०७७/७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशतको आयकर छुट ।
८.कम्पनी पर्मको शुल्क तथा जरिवाना छुट : सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवाना तिर्दा १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा ।
९. अक्सिजनमा भन्सार भ्याट छुट : अक्सिजन ग्यास, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायत अन्य जीवनदायक सामग्री र औषधि आयात, उत्पादन तथा विक्री वितरणमा लाग्ने भन्सार महसुल मूल्य अभिवृद्धि कर र अन्तशुल्क २०७८ पुष मसान्तसम्म छुट ।
१०. विद्युतीय उपकरणको अन्तःशुल्क खारेज : इन्डक्सन चुलोको भन्सार महसुल घटाइएको छ भने राइसकुकर, रेफ्रेजेरेटर लगायत अन्य विद्युतीय उपकरणको अन्तःशुल्क खारेज ।
११. खानेपानी आयोजनाको विद्युत् महशुल छुट : उपभोक्ता समूहमा सञ्चालित खानेपानी आयोजनामा प्रयोग हुने विद्युत महसुल तथा डिमाण्ड शुल्क पूरै छुट ।
१२. बच्चाले खाने दूधमा भन्सार छुट : शिशु स्वास्थ्य पोषणलाई बढावा दिन बच्चाले खाने दूधको भन्सार महसुलमा ५० प्रतिशत छुट ।
१३. स्टार्टअपलाई शतप्रतिशत आयकर छुट : स्टार्टअप व्यवसायलाई कारोबार शुरु गरेको मितिले ५ वर्षसम्म लाग्ने आयकरमा शतप्रतिशत छुट ।
१४. निवृत्तिभरण आय गणनामा छुट : निवृत्तिभरण बापतको करयोग्य आय गणना गर्दा थप २५ प्रतिशत रकम छुट ।
१५. पेट्रोलियम सवारी विद्युतीय बनाउँदा ५ वर्षसम्म नवीकरण र सडक दस्तुर छुट : पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारी बनाउँदा अवलम्बन गर्नुपर्ने नीति, छुट तथा सुविधा, पूर्वाधार विकासका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गर्ने एवं पेट्रोलियम पदार्थबाट ढुवानी हुने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गरे ५ वर्षसम्म नवीकरण शुल्क र सडक निर्माण तथा सम्भार दस्तुरमा छुट ।
१६. पर्यटनक्षेत्रको नवीकरण छुट : कोरोनाबाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ लगायतका पर्यटन व्यवसाय सार्वजनिक यातायात हवाई सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्युटी पार्लर, हेल्थ क्लब जस्ता व्यवसायले आगामी आर्थिक वर्षमा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिने र स्वतः नवीकरण हुने ।
१७. कोरोना कोषमा दिएको सहयोग खर्च कट्टी गर्न पाउने : तीनै तहका सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने ।
१८. कृषि औजार आयातमा छुट : कृषिको यान्त्रीकरणका लागि कृषि औजार तथा कृषि उपकरण र सोको पार्टपूर्जाको आयातमा कर तथा महसुल छुट ।
१९. उद्योग स्थान्तरण गर्दा १० वर्षसम्म जग्गा नि:शुल्क : काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उद्योगहरुलाई मकवानपुरको मयुरधापमा स्थानान्तरण गरेमा त्यस्ता उद्योगलाई १० वर्षसम्म निःशुल्क जग्गा उपलब्ध गराउने, ५ वर्षसम्मका लागि विद्युत डिमाण्ड शुल्कमा पूरै छुट र उद्योगले पैठारी गर्ने मिल, मेसिनरी र सोको पार्टपूर्जामा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने ।
२०. शतप्रतिशत निकासी गर्ने उद्योगलाई आयकर छुट : विदेशी लगानीकर्ताले नेपालमा उत्पादन गरी शतप्रतिशत निकासी गरेमा त्यस्ता उद्योगलाई आयकरमा थप छुट ।
२१. रोपवे उकरण आयातमा भन्सार छुट : गर्न खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट ।
२२. अर्गानिक प्रमाणीकरण शुल्क छुट : सामूहिक ट्रेडमार्क नवीकरण दस्तुर नेपाल सरकारले व्यहोर्ने र अर्गानिक प्रमाणीकरणका लागि लाग्ने शुल्क छुट ।
२३. कोभिड प्रभावित उद्योगलाई कर छुट : कोभिड १९ महामारीबाट प्रभावित उद्योग व्यवसायलाई कर छुट दिने एवं सहुलियत उपलब्ध गराउने ।
२४. पर्यटन र संचार क्षेत्रलाई १ प्रतिशमात्र आयकर : कोरोनाबाट अत्यधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लगाइने । साथै ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्याइने।
२५. कर दाखिलामा जरिवाना छुट : २०७६ असार मसान्तसम्मको कर रकम र सोमा लागेको ब्याज २०७८ पुष मसान्तभित्र दाखिला गरेमा शुल्क जरिवाना तथा थप दस्तुर मिनाहा हुने ।
२६. विद्युतीय सवारीको अन्तःशुल्क खारेज : विद्युतीय सवारीसाधनको अन्तशुल्कमा पूरै खारेज र भन्सार शुल्कमा पनि कमी ल्याइएको छ ।
२७.पार्टपुर्जा आयातमा भन्सार छुट : चिया, जुट, चलचित्र, पश्चिमा, ह्याचरी उद्योग र कृषि तथा नर्सरी फर्मममा प्रयोग हुने यन्त्र उपकरण र पार्टपुर्जाको भन्सार छुट ।
२८. व्यावसायिक कृषिको आयकर छुट : व्यावसायिक कृषि आयमा लाग्ने करमा ५० व्यावसायिक कृषि आयामा लाग्ने करमा ५० प्रतिशत छुट । साथै, सामूहिक व्यावसायिक खेती गर्ने कृषि सहकारी संस्थले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट ।
२९. कच्चा पदार्थ विक्रीका आयकरमा छुट : स्वदेशी उयत्पादन गरेको कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा २० प्रतिशत मात्र कर लाग्ने ।
३०. प्रयोग भइसकेका वस्तु मात्र कच्चा प्रयोग गर्ने उद्योगलाइ छुट : पदार्थकावातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोबार शुरु गरेको पहिलो ३ वर्षसम्म लाग्ने आयकरको ५० प्रतिशत र थप २ वर्षसम्म २५ प्रतिशत छुट ।
३१. औद्योगिक क्षेत्रमा स्थान्तरण हुने उद्योगलाई आयकर छुट : औद्योगिक क्षेत्रबाहिर सञ्चालनमा रहेका उद्योग, औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण भएमा उत्पादन शुरु भएको ३ वर्षसम्म आयकरमा ५० प्रतिशत छुट र त्यसपछिको ५ वर्षसम्म २५ प्रतिशत छुट ।