जीडीपीमा कृषिको हिस्सा घट्दै, चालू वर्षमा २५.८ प्रतिशत रहने अनुमान

काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको हिस्सा २५.८ प्रतिशत रहने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणले यस्तो अनुमान गरेको हो ।

 

पछिल्ला वर्षहरुमा ग्राहस्थ उत्पादनमा कृषिको हिस्सा समतेत घट्दै गएको सर्वेक्षणले बताएको छ । आर्थिक वर्ष २०६८ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२.७ प्रतिशत रहेकोमा पछिल्ला वर्षहरुमा यस्तो योगदान क्रमशः घट्दै गई चालू आवमा २५.८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

 

कृषिको व्यवसायीकरण र आधुनिकीकरणका साथै सेवा क्षेत्र र अन्य गैरकृषि क्षेत्रमा भएको विस्तारको कारण कृषि पेशामा आश्रित जनसंख्याको हिस्सा समेत घट्दै गएको छ ।

 

सन् २००८ को नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार कृषि क्षेत्रमा आबद्ध जनसंख्या ७३.९ प्रतिशत रहेकोमा सन् २०१८ मा भएको श्रमशक्ति सर्वेक्षण अनुसार यस्तो जनसंख्या ६०.४ प्रतिशत रहेको छ ।

 

कोभिड १९ को कारण भएको बन्दाबन्दीले कृषिसँग सम्बन्धित उत्पादन सामाग्री मल, खाद्य, बीउबीजन, विषादी र कृषि औजारको आपूर्तिमा असहजता भएको र कृषि उपज जस्तैः खाद्यान्न, ताजा तरकारी तथा फलफूलको मूल्य वृद्धि भई मूल्य श्रृंखला प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ ।

 

नेपाली व्यवसायीले तेस्रो मुलुकबाट आयात इजाजत माग गरेका पशुपन्छी, पशुजन्य उत्पादन र उत्पादन सामाग्रीको जोखिम विश्लेषण गरी ज्यून जोखिमको अवस्थामा मात्र आयात सिफारिश गर्न सकिने व्यवस्था मिलाइएको छ । यसबाट पशुपन्छीजनय रोग नियन्त्रणमा सघाउ पुग्ने अनुमान गरिएको छ ।

 

स्याउ उत्पादन वृद्धि गर्न जुम्लामा उच्च घनत्वको बगैँचा स्थापनाका लागि जुम्ला जिल्लामा स्याउ बगैँचा स्थापना तथा सञ्चालन मापदण्ड लागू गरिएको छ ।

 

३ बालीको समर्थन मूल्य तोकियो

 

कृषकले उत्पादन लागतको आधारमा कृषि उपजको उचित मूल्य प्राप्त गर्ने व्यवस्थालाई मिलाई कृषि व्यवसाय प्रति आम नागरिकको आकर्षण बढाउने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ का लागि प्रमुख खाद्यान्न वाली मध्ये धान, गहुँ र उखुको न्यूनतम समर्थन मूल्य तोकिएको छ ।

 

उखुको मूल्य चालू आवमा ५४४.३३ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । मोटा धानको समर्थन मूल्य २ हजार ७३५ रुपैयाँ तोकिएको छ । मध्यम धानको समर्थन मूल्य २ हजार ८८५ रुपैयाँ तोकिएको छ । गहुँको समर्थन मूल्य ३ हजार १११ रुपैयाँ तोकिएको छ ।

 

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा मोटा र मध्यम गरी कुल १९ हजार ७२४ मेट्रिकटन धान किसानसँग खरिद गरिएको छ ।

 

२०७७ फागुन मसान्तसम्मा विभिन्न ८ जिल्लाका उखु कृषकलाई प्रति क्वीण्टल ६५.२८ रुपैयाँ का दरले ९४ करोड ४० लाख ४८ हजार १ सय रुपैयाँ अनुदान उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ३७ करोड २२ लाख ६७ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो ।

आर्थिक वृद्धिमा आधाभन्दा बढी योगदान कृषि, व्यापार र निर्माणको Read Previous

आर्थिक वृद्धिमा आधाभन्दा बढी योगदान कृषि, व्यापार र निर्माणको

प्रधानमन्त्री ओलीको ३ वर्षे कार्यकालमा देशको ऋण दोब्बर, ऋण लिएको १८० अर्ब तलबभत्तामा खर्च Read Next

प्रधानमन्त्री ओलीको ३ वर्षे कार्यकालमा देशको ऋण दोब्बर, ऋण लिएको १८० अर्ब तलबभत्तामा खर्च