डेनमार्कको एक बैंकले ऋणात्मक ब्याजदरमा घर किन्न चाहने ग्राहकहरुलाई ऋण दिन थालेको छ । डेनमार्कको तेस्रो ठूलो बैंक, ज्यास्के बैंकले १० बर्षे स्थिर घर कर्जा -०.५ प्रतिशत ब्याजदरमा उपलब्ध गराएको हो । यसको मतलब, कसैले १० बर्षको लागि १० लाख युरोको घर किन्यो भने १० बर्षसम्ममा उसले बैंकलाई ९ लाख ९५ हजार युरोमात्र बुझाए पुग्यो ।
ऋणात्मक ब्याजदरका अलावा केही अन्य शुल्कहरु भने बैंकलाई ग्राहकले बुझउनुपर्नेछ ।
‘यो घरकर्जाको इतिहासको एउटा अर्को किस्सा हो,’ ज्यास्के बैंकका हाउजिङ अर्थशास्त्री मिकेल होगले भने, ‘केही महिनाअघि हामीलाई यो सम्भव होला भन्ने लागेको थिएन । तर, अहिले हामी छक्क परेको छौं । घर किन्न चाहनेहरुको लागि यो नयाँ अवसरको सृजना हो ।’
ज्यास्के बैंकको ऋणात्मक ब्याजदर ड्यानिस बैंकहरुको अत्यन्तै कम दरको घर कर्जाको पछिल्लो कडी हो ।
स्क्यान्डेनेभियाको सबैभन्दा ठूलो बैंक र्नोडियाले पनि २० बर्षे घर कर्जा ० प्रतिशत ब्याजदरमा उपलव्ध गराउन थालेको छ । अन्य डेनिस बैंकहरुले पनि ३० बर्षे घर कर्जा ०.५ प्रतिशत ब्याजदरमा उपलव्ध गराउन थालेका छन् ।
बैंकहरुका लागि यति कम ब्याजदरमा घर कर्जा दिनु प्रत्युपादक पनि हुन सक्छ । तर, यसका पछाडि कारण छन् ।
वित्तीय बजार अहिले एकदमै अस्थिर अवस्थामा छ । अमेरिका र चीनको व्यापार युद्ध, ब्रेक्जिट र समग्र विश्वकै अर्थतन्त्र, बिशेषगरि यूरोपको, धिमा गतिमा छ ।
धेरै लगानीकर्ताहरु निकट भविष्यमै वित्तीय बजार ध्वस्त (क्रर्यास) हुन्छ कि भनेर डराइरहेका छन् । यस्तो अवस्थाका कारण केही बैंकहरु ऋणात्मक ब्याजदरमा घर कर्जा दिन तयार भएका हुन् । यसको मतलब ग्राहकले निकट भविष्यमा तिर्नै नसक्ने उच्च दर लगाएर ठूलो घाटा ब्यहोर्नु भन्दा अहिले नै थोरै घाटा ब्यहोर्न तयार भएका हुन् ।
‘यो असहज सोच हो की कोही लगानीकर्ता ३० बर्ष लगानी गरेर ०.५ प्रतिशत मात्र रिर्टनको लागि तयार छ’ बर्जम्यानले भने ।
‘यसले लगानीकर्ताहरु अहिलेको वित्तीय बजारसँग कति डराएका छन् भन्ने देखाउँछ । र, उनीहरको अनुमानमा यो अवस्था सुध्रन धेरै लामो समय लाग्ने छ’ बर्जम्यानको भनाई छ ।