काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता भएको छ ।
मंगलबार बैंक र फाइनान्सबीच मर्जर तथा एक्विजिशन सम्बन्धी अन्तिम सम्झौता भएको हो । सम्झौतापत्रमा बैंक सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सुवास आचार्यले हस्ताक्षर गरेका हुन्।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम प्राप्ति गर्ने गरी सम्झौता गरेको बैंकले जनाएको छ । दुवै संस्थाले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
अब दुवै संस्थाको साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति लिई डेढ महिनाभित्रै एकीकृत कारोबार शुरु गरिने बैंकले जनाएको छ ।
बैंकले फाइनान्सलाई १००ः९५ अनुपातमा प्राप्ति गर्न लागेको हो । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।
जेठ ९ गते सम्मको तथ्यांकको आधारमा बैंकले फाइनान्सलाई प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ र कर्जा लगानी १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ ।