काठमाडौं । प्रभु बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेञ्चर-२०८७’ नामक ऋणपत्र निष्काशन गरेको छ ।
बैंकले १ हजार अंकित दरले ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता ऋणपत्र बैंकले विभिन्न व्यक्ति तथा संघसंस्थालाई व्यक्तिगत तवरबाट विक्री गर्ने छ ।
यस्तै बाँकी रहेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रको २५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको र बाँकी रहेको १५ लाख ७७ हजार ५०० इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
१० वर्ष अवधि रहेको ऋणपत्रको ब्याजदर ८.५ प्रतिशत रहेको छ । ऋणपत्रको ब्याज त्रैमासिक रूपमा भुक्तानी हुने बैंकले जनाएको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिने सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखाका साथै मेरो सेयर मार्फत आवेदन दिन सकिन्छ । लगानीकर्ताले छिटोमा साउन जेठ १६ गते र उक्त समयमा पर्याप्त आवेदन नपरेमा जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रभु बैंकको ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित जनाउँदछ । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ ।