उद्योग बन्द हुँदा विद्युत् खपत २२५ बढी मेगावाट घट्यो, आयातमा कटौती
चाणक्य पोष्ट
प्रकाशित : 9:34 am, सोमबार, जेठ १०, २०७८

काठमाडौं । निषेधाज्ञाका कारण विद्युत् खपत ह्वात्तै घटेको छ । उद्योग, कलकारखाना, कार्यालयहरु पूर्णरुपमा संचालन हुन नसक्दा विद्युत्को मागमा कमी आएको हो ।

 

उद्योग, कलकारखाना लगायत विद्युत् खपत हुने स्थानहरु बन्द हुँदा विद्युत्को माग २२५ युनिटभन्दा बढीले घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिमलसिनाका निषेधाज्ञा अघि विद्युत्को माग दैनिक १४६० युनिटसम्म रहेको थियो । हाल पिकआवरमा पनि अधिकतम १२२६ युनिट रहेको उनले बताए ।

 

‘उद्योग तथा कल कारखाना बन्द भएकाले विद्युत् आयात कम भएको छ, अर्को तर्फ खोलाको वाहव पनि बढेकाले विद्युत् उत्पादनमा वृद्धि भएको छ,’ प्रवक्ता तिमलसिनाले चाणक्य पोष्टसँग भने ।

 

मागमा कमी आएसँगै भारतबाट आयात हुने विद्युत्मा पनि कटौती गरिएको प्राधिकरणले जनाएको छ । निषेधाज्ञा अघि दैनिक ६०० मेगावाट बढी विद्युत् आयात भइरहेकोमा हाल कटौती गरी ४८० मेगावाट हाराहारी मात्रै आयात भइरहेको प्रवक्ता तिमलसिनाले बताए ।

 

‘एकातिर निषेधाज्ञाका कारण विद्युत्को माग घटेको छ भने अर्कोतिर आन्तरिक उत्पादन बढेको छ,’ उनले भने, ‘मागमा कमी आएपछि आयातमा पनि कटौती गरेका हौं । निषेधाज्ञा अघि प्राधिकरणले मागको आधाभन्दा बढी विद्युत् आयात गर्दै आइरहेको उनको भनाइ छ ।’

 

प्राधिकरणले दैनिक आवश्यक पर्ने विद्युत् भारतको इनर्जी एक्सचेञ्ज मार्केटबाट खरिद गरेर ल्याउन शुरु गरेको छ । प्राधिकरणले मे १ तारिखदेखि भारतको इनर्जी एक्सचेञ्जबाट विद्युत् खरिद शुरु गर्न थालेको हो । भारतमा पनि विद्युत् माग कम भएर भाउ घटेकाले इनर्जी एक्सचेञ्जबाट विद्युत् किन्दा प्राधिकरणलाई सस्तो परिरहेको छ ।

 

प्राधिकरणका अनुसार हाल प्राधिकरणका आफ्नै आयोजनाबाट अधिकतम ४७५ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ३५० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निजी क्षेत्रको आयोजनाको जडित क्षमता ७५० मेगावाट पुगे पनि रन अफ रिभर प्रकृतिका आयोजनाबाट सुक्खायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन नहुने भएकाले उत्पादनमा कमी आउने गरेको छ ।

 

थप २५० मेगावाट विद्युत् उत्पादनको तयारी

 

आगामी असारभित्रै थप २५० मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।  हाल माथिल्लो तामाकोशीको सुरुङ परीक्षण भइरहेको छ । परीक्षण सकिएपछि ४५६ मेगावाट क्षमताको तामाकोशीको पहिलो युनिटबाट जेठभित्रै ७६ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।

 

यस्तै, निजी क्षेत्रबाट म्याग्दीमा निर्माण भइरहेको ४२ मेगावाटको मिस्त्रीखोला आयोजना, लमजुङको ४९ मेगावाट जडित क्षमता भएको सुपरदोर्दी खोला आयोजना अन्तिम चरणमा पुगेको छ ।

 

यस्तै, ओखलढुंगामा निर्मित ५२ मेगावाटको लिखु–४ आयोजना र दोलखाको २५ मेगावाट जडित क्षमता भएको सिंगटीखोला आयोजना निर्माण सकिएर पनि प्रसारण लाइन नबन्दा उत्पादन हुन सकेको छैन ।

 

उनले निषेधाज्ञाका कारण विद्युत् आयोजनाको निर्माण नरोकिएको बताए । विभिन्न आयोजनाहरुमा कामहरु सुस्त गतिमा भइरहेको उनले बताए । उनले केही मजदुरहरुमा कोरोना देखिएका कारण उनीहरुलाई आइसोलेसनमा राखिएको बताए ।‘अहिलेसम्म कुनै काम रोकिएको छैन, केही आयोजनाहरुमा मजदुरमा कोरोना देखिएपछि कामले गति लिन सकेको छैन,’ प्रवक्ता तिमलसिनाले भने ।