काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडयू जडानका लागि १८ करोड उपलब्ध गराउने भएको छ ।
मन्त्रालयले ती १३ अस्पताललाई १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति दिएको हो । मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई १ करोड ५५ लाख, जिरी अस्पताललाई ८० लाख रुपैयाँ दिएको छ
त्यसैगरी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख बझाङ अस्पताललाई १ करोड ५५ लाख, डोटी अस्पताललाई ८० लाख, बाजुरा अस्पताल, अछाम अस्पताल, सोलुखुम्बु अस्पताल, खोटाङ अस्पताल, ताप्लेजुङ अस्पताल, सूर्य विनायक अस्पताललाई समान ७५ ७५ लाख रुपैयाँ दिएको छ ।
यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो ।
त्यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख रुपैयाँको सहमति दिएको थियो ।
त्यसैगरी विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइपलाइन तथा प्लाण्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रुपैयाँको सहमति दिएको थियो भने विभिन्न अस्पतालहरुमा अक्सिन प्लान्ट स्थापना तथा एचडियु थप गर्न ८५ करोड रुपैयाँ ९३ लाख रुपैयाँको सहमति दिएको थियो ।
