काठमाडौं । क्रिप्टोकरेन्सी मुद्रा बिटक्वाइनलाई एक साता नबित्दै अर्को झड्का लागेको छ । विद्युतीय कार कम्पनी टेस्लाले कार खरिदमा बिटक्वाइनको प्रयोग गर्नसक्ने योजना खारेज गरेको एकसाता नबित्दै चीन सरकाले पनि क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध लगाएको छ ।
चीनले मंगलबार बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरुलाई क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गर्न प्रतिबन्ध लगाएको छ । साथै, लगानीकर्ताहरूलाई क्रिप्टो कारोबारप्रति सचेत पनि गराएको छ।
क्रिप्टोकरेन्सी ट्रेडिङको जोखिमलाई औंल्याउँदै चीनका तीन उद्योगसम्बन्धी संस्थाहरु नेसनल इन्टरनेट फाइन्यान्स एशोसिएसन अफ चाइना, चाइना बैंकिङ एशोसिएसन र पेमेन्ट तथा क्लियरिङ एशोसिएसन अफ चाइनाले प्रतिबन्ध लगाएका हुन् ।
भर्चुअल करेन्सीलाई रियल भ्याल्युले सपोर्ट नगर्ने र सजिलै त्यसको मूल्य घटबढ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको ती संस्थाले बताएका छन् ।
प्रतिबन्धपछि चीनका वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले क्रिप्टोकरेन्सी सम्बन्धी सेवाहरु खाता दर्ता, ट्रेडिङ, क्लियरिङ, सेटलमेन्ट लगायतका कार्य गर्न पाउने छैनन्। साथै, वित्तीय संस्थाहरुले क्रिप्टोकरेन्सी सम्बन्धी वित्तीय प्रडक्ट पनि जारी गर्न पाउने छैनन्।
वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुलाई क्रिप्टोकरेन्सी सेवामा प्रतिबन्ध लगाए पनि चीन सरकारले व्यक्तिगत रुपमा क्रिप्टोकरेन्सी राख्ने माथि भने बन्देज लगाएको छैन। तर, क्रिप्टो सटही र इनिसियल कोइन अफरिङ गर्न भने रोक लगाएको छ।
चीनमा सन् २०१९ देखि नै क्रिप्टोकरेन्सी कारोबार अवैध छ तर अनलाइनमा मानिसहरू कारोबार गरिरहेको कारण बेइजिङ चिन्तित बनेको थियो। चीनमा अवैध भए पनि विश्वभरिको ७५ प्रतिशत बिटकोइन माइनिङ चीनमा हुने गर्छ ।
मूल्यमा भारी गिरावट
चीनको घोषणासँगै क्रिप्टोकरेन्सी मुद्राहरुको मूल्यमा भारी गिरावट आएको छ । गतहप्तादेखि नै ओरालो लागेको बिटक्वाइनको मूल्य यस अवधिमा झन्डै ४० प्रतिशतले घटेको छ । यस्तै, अन्य डिजिटल मुद्राहरु इथर र डगकोयनको मूल्यमा पनि क्रमशः २२ र २४ प्रतिशतले कमी आएको छ।
बिटकोइनको मूल्य विगत तीन महिनामा पहिलो पटक ३४ हजार अमेरिकी डलरभन्दा कम भएको छ। गत साता अमेरिकी कम्पनी टेस्लाले क्रिप्टोकरेन्सी कारोबार नगर्ने बताएपछि बिटकोइनको मूल्य सोही दिन १० प्रतिशतभन्दा बढीले घटेको थियो।
यो वर्षको आरम्भमा ३० हजार डलरभन्दा कम रहेको बिटकोइनको मूल्य मार्च र एप्रिलमा ६२ हजार डलर नाघेको थियो।
एलन मस्कको त्यो ट्वीट, जसले दियो बिटक्वाइनलाई पहिलो झड्का
विद्युतीय कार निर्माता कम्पनी टेस्ला मालिक एलन मस्कले अचानक क्रिप्टोकरेन्सी ‘बिटक्वाइन’ सम्बन्धी आफ्नो धारणा बदल्दै सबैलाई आश्चर्यमा पार्ने एक ट्वीट गरे । गत बिहीबार उनले बिटक्वाइन सम्बन्धी अलगै धारणा व्यक्त गरेपछि यसबारे सामाजिक संजालभर अधिक चर्चा भएको थियो ।
बिटक्वाइनको कारोबारले अत्याधिक ऊर्जा खपत् गर्ने हुनाले वातावरणका लागि राम्रो नभएकामा चिन्ता जनाउँदै उनले टेस्ला खरिद गर्दा अब बिटक्वाइनको प्रयोग गर्न नपाइने बताएका थिए । उनको यस भनाइसँगै बिटक्वाइनको भाउ अचानक १० प्रतिशतले घटेको छ ।
मस्कले ट्वीट गर्दै भनेकाथिए, ‘क्रिप्टोकरेन्सी धेरै स्तरमा राम्रो व्यवसायिक योजना हो र यसको भविष्य उज्वल छ भन्ने हामी सबैको विश्वास छ । तर यस वापद् वातावरणले ठूलो मूल्य चुकाउनुपर्ने कुरा भने स्वीकार्य हुनेछैन ।’ बिटक्वाइनकै कारण पछिल्ला केही महिना ऊर्जा खपत्को मात्रा अकल्पनीय स्तरमा बढेको समेत उनले ठहर गरेका हुन् ।
टेस्ला कम्पनीले गत फेब्रुअरीमा आफूले १.५ अर्ब डलर बराबरको बिटक्वाइन खरिद गरेको घोषणा गरेको थियो । यो खबरसँगै डिजिटल करेन्सीको बजार अति उच्च बिन्दुमा पुग्यो ।
तर यसले वातावरणमैत्री प्रविधिको पक्षमा रहेका अर्बपति मस्कको छविलाई विवादित तुल्याएको थियो । टेस्लाका केही लगानीकर्ता सहित वातावरणवादी अभियन्ताहरुले बिटक्वाइनको ऊर्जा खपतबारे आलोचना गरेका हुन् ।यस्तोमा मस्कले आफू पनि उनीहरुको यस चिन्ताबारे गम्भीर रहेको बताउँदै कार्बन उत्सर्जन विरुद्धको पक्षमा उभिने बताएका थिए ।
बिटक्वाइन र वातावरणीय चिन्ता
बिटक्वाइनमा माइनिङ तथा कारोबारका लागि उच्च क्षमतायुक्त कम्प्युटरहरुको प्रयोग हुन्छ र यसमा ठूलो परिमाणमा ऊर्जाको खपत हुन्छ । बिटक्वाइन माइनिङका लागि आवश्यक बिजुलीको ठूलो हिस्सा कोइला जस्ता अनविकरणीय स्रोतबाटै उत्पादन गरिएको हुन्छ ।
चिनियाँ माइनरहरुको बाहुल्यता रहनु तथा सस्तो जीवांश इन्धनबाट महंगो नविकरणीय ऊर्जाको प्रयोगमा लैजानका लागि उत्प्रेरणाको कमी हुनुका कारणले बिटक्वाइनलाई वातावरणविदहरुले चिन्ताको विषय मान्दै आएका छन् । विश्वमा हुने कूल बिटक्वाइन माइनिङ मध्ये ७५ प्रतिशत त चीनमै हुने गरेको छ ।
बिटक्वाइनको कार्वन उत्सर्जन चीनका सबैभन्दा ठूला १० सहरमध्ये झण्डै एउटा सहरजत्तिकै छ ।बिटक्वाइन मानइरहरुले प्रयोग गर्ने बिजुलीको अधिकांश हिस्सा कोइला लगायतका जीवांश इन्धनबाटै उत्पादन हुने गर्दछ ।
-एजेन्सीको सहयोगमा