काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीको खोल्नका लागि गरिएको आह्वानमा ५ वटा कम्पनीले प्रस्ताव पेश गरेका छन् ।
बीमा समितिले पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी, र प्रभावकारी बनाउन निजी क्षेत्रको नयाँ एउटा पुनर्बीमा कम्पनी खोेल्न वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो । सोही आह्वान अनुसार निवेदन दिने अन्तिम दिन आजसम्म ५ कम्पनीले आवेदन दिएको बीमा समितिले जनाएको छ ।
समितिका अनुसार काठमाडौं रि, प्रुडेन्सियल रि, जेन्युइन रि, अन्नपूर्णा रि र हिमालयन रि गरी ५ कम्पनीले प्रस्ताव पेश गरेका हुन् ।
हाल नेपालमा सरकारको ४४ प्रतिशत स्वामित्व सहितको एउटा मात्र (नेपाल पुनर्बीमा कम्पनी) पुनर्बीमा कम्पनी संचालनमा रहेको छ ।अहिलेको अवस्थामा एउटा मात्र कम्पनी पर्याप्त नहुने भन्दै समितिले अर्को एउटा निजी क्षेत्रको पुनर्बीमा कम्पनी खोल्न प्रस्ताव आह्वान गरेको थियो ।
प्रस्ताव पेश गरेका ५ कम्पनीमध्ये समितिबाट तयार हुने मूल्यांकनका आधारहरुमा उच्चतम अंक प्राप्त गर्ने एक कम्पनीले मात्र सञ्चालनको लागि अनुमति पाउने समितिले जनाएको छ ।
नयाँ पुनर्बीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी १० अर्ब रुपैयाँ हुनुपर्ने, नेपाल पुनर्बीमा कम्पनीसँग क्रस होल्डिङ हुन नहुने, नयाँ पुनर्बीमा कम्पनीको लागि प्रस्ताव पेश गर्दा बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका अनुसार हुनुपर्ने जस्ता शर्त राखिएका छन् ।