सेयरमा आक्रमक लगानी गर्दै बैंकहरु, सेयर कर्जा १ खर्ब नजिक, यसकारण बढाए लगानी

काठमाडौं । पछिल्लो १ वर्ष यता सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुले पनि सेयर कर्जा विस्तारमा आक्रमक बनेका छन् । गत वर्ष लकडाउनपछि  सेयर कर्जा विस्तारमा आक्रमक बनेका बैंकहरुले यस वर्ष पनि उही रफ्तारमा कर्जा प्रवाह गरेका हुन् ।

 

चालू आवको १० महिना (साउन-वैशाख) सम्म नेप्से परिसूचक करिब १६०० अंक (झन्डै अढाइ गुणा) बढ्दा कर्जा प्रवाह पनि झन्डै दोब्बरले वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैतमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ९१ अर्ब ८९ करोड रूपैयाँ कर्जा लगानी गरेका छन् ।

 

यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ८२.३२ प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको चैत मसान्तसम्म जम्मा ५० अर्ब ४० लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए ।

 

यस्तै, बैंक तथा वित्तीय संस्थाले चालू आवको ९ महिनामा मात्रै थप ४१ अर्ब ४८ करोड सेयर कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्ष सोही अवधिमा बैंकहरुले सेयरमा जम्मा २ अर्ब मात्र कर्जा प्रवाह गरेका थिए ।

 

गत असार सम्ममा बैंकहरुले ५० अर्ब ४० करोड ९७ लाख रुपैयाँ सेयर कर्जा लागनी गरेका थिए । ९ महिनामै त्यस्तो कर्जा लगानी ८२ प्रतिशतले वृद्धि भई ९१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

 

यस कारण बढाए बैंकहरुले सेयर कर्जामा लगानी ?

 

सेयर कर्जा बढ्नुको मुख्य कारण बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदर सस्तो हुनु नै हो । कोरोनाका कारण समग्र अर्थतन्त्र प्रभावित हुँदा अन्य क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले सेयरमा कर्जा लगानी बढाएका हुन् । यद्यपि, बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेर कर्जा लगानी गरेका छन् ।

 

पछिल्लो समय सेयर बजारले गति लिँदै जाँदा लगानीकर्ता उत्साहित भई लगानी बढाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई लगानी गर्ने प्रवृत्ति बढेसँगै सेयर कर्जा उल्लेख्य वृद्धि भएको हो ।

 

यस्तै, पछिल्लो १ वर्ष यता बैकिङ प्रणालीमा अधिक तरलता छ । जसले बैंकको ब्याजदर निकै सस्तो भएको छ । गत वर्ष १२ प्रतिशतसम्म रहेको बैंकहरुको ब्याजदर अहिले ८ प्रतिशत हाराहारीमा झरेको छ । जसले गर्दा सस्तो ब्याजमा ऋण लिएर सेयरमा लगानी गर्नेको संख्या बढेको हो ।

 

बैंकहरुले पनि अन्य क्षेत्रमा कर्जा प्रवाह हुन नसकेपछि विभिन्न आकर्षक अफर ल्याएर सेयरमा कर्जा लगानी बढाउन थालेका छन् । सस्तो ब्याजदरमा सहजै कर्जा पाइने अवस्था सृजना भएपछि पछिल्लो समय सेयर कर्जा रकम र ऋण लिनेको संख्या समेत बढ्दै गएको छ ।

 

अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा ब्याजदरमै सेयर कर्जा दिँदै आएका छन् । जबकी गत वर्ष बैंकहरुले सेयर कर्जामा १३ देखि १५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।

 

यस्तै, नीतगत व्यवस्थामा आएको सुधारले पनि सेयर कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव कर्जा विस्तारमा देखिएको छ ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो (मार्जिन) कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको थियो । यस्तै, मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयर धितोको मूल्यांकन गर्दा १८० दिनलाई (औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ) घटाएर १२० दिनको मूल्यको आधारमा गर्ने व्यवस्था गरेको थियो ।

प्रभु सेलेक्ट फण्डको इकाई विक्री खुला, वार्षिक २० प्रतिशत प्रतिफल दिने Read Previous

प्रभु सेलेक्ट फण्डको इकाई विक्री खुला, वार्षिक २० प्रतिशत प्रतिफल दिने

नेपालमै पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन हुने, परीक्षण सफल Read Next

नेपालमै पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन हुने, परीक्षण सफल